सिन्धुली – कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा कस्मेटिकको सामान चोर्ने सिन्धलीको दुइ महिलालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार काठमाडौँमा राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने जिल्लाको तिनपाटन गाउँपालिकाका दुइ महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तिनपाटन गाउँपालिका ७ लाम्पान्टारकी चित्र माया बस्नेत र तिनपाटन गाउँपालिकाकै सुस्मिता बराल रहेका छन् । उनीहरु हाल कोटेश्वर नरेफाँटमा बस्दै आएका छन् । बस्नेत र बरालको साथबाट लिपस्टिक ६९ थान गाजल २१ थान र ऐना एक थान प्रहरीले फेला पारेको थियो । भाटभटेनीबाट चोरी गरेको कस्मेटिकको सामान सहित दुइ महिलालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको छ । सुपरमार्केट लुटपाट, तोडफोड साथै चोरीको घटनाका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । सर्वसाधारणले राजधानीमै यस्ता घटनाहरू बढ्दै जानु गम्भीर विषय भएको भन्दै सरकार र प्रशासनको आलोचना गरेका छन् ।
राजावादी प्रदर्शनको क्रममा हजारौं समर्थकहरू सडकमा ओर्लिएका थिए । सोही भीडको मौका छोपी केही व्यक्तिहरूले भाटभटेनी सुपरमार्केटमा जबरजस्ती प्रवेश गरी बियरका बोतलहरू लुटेका, सुरक्षागार्डलाई हातपात गरेका र सम्पत्तिमा क्षति पु¥याएका थिए । प्रहरीका अनुसार केही प्रदर्शनकारीले आगजनीको प्रयास पनि गरेका थिए । भाटभटेनी सुपरमार्केटका सुरक्षागार्डहरूले लुटपाट रोक्न प्रयास गरेका थिए । उनीहरू र लुटेराहरूबीच झडपसमेत भएको थियो । सुरक्षागार्डहरूले केही लुटेराहरूलाई नियन्त्रणमा लिए पनि अधिकांश भाग्न सफल भएका थिए ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी रमेश पाण्डेका अनुसार पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । “हामीले प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछौं,” उहाँले भन्नुभयो । घटनाका अन्य संलग्नहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । साथै, सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने जोकोहीलाई कारबाही गरिने प्रहरीको चेतावनी दिएको छ ।
यसैबिच, तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्य विरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको हो । ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख अपिलराज बोहराका अनुसार, घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको छ । सरकारी वकिल कार्यालयका प्रमुख काफ्लेले आरोपितहरूमाथि छानविन चल्दै गर्दा अरु कसुरमा संलग्नता भेटिए त्यसै अनुसार, अदालतमा पेस गरेर म्याद थप हुने उहाँले बताउनुभयो ।
प्रहरीले करिव एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका स्वागत नेपाल लगायतहरुलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।