शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ,फरार प्रसाईंको खोजी तीव्र

शनिवार , चैत्र १५, २०८१

काठमाडौं, १६ चैत राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका छन् ।

प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको उनले बताए । तर, उनको नाम भने खुलाइएको छैन ।बन्दुक खोसेको फोटो र भिडियो खिच्ने क्रममा अनलाइनखबरकर्मीमाथि पनि आक्रमण भएको थियो ।

अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणाका साथै स्वागत नेपाललगायतका राजावादी अभियन्ताहरू शुक्रबार राति नै पक्राउ परेका छन् । राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ ।

आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार भएका छन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ । शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट भागेका थिए । प्रहरीले तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईँ स्कोर्पियो चढेर त्यहाँबाट हिँडेको प्रहरी अधिकृतहरु बताउँछन् ।

उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार प्रसाईँ चक्रपथ हुँदै ललितपुर तर्फ लागेको थाहा भएको छ । ती अधिकृत भन्छन्, ‘ललितपुरमा लुकेको आशंका छ, हामी खोजिरहेका छौँ ।’

संयोजक दुर्गा प्रसाईँ आफैंले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयको निष्कर्ष छ । गृह मन्त्रालयका सहसचिव छवी रिजालले तीनकुनेको घटना आपराधिक भएको बताउँदै त्यसमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन् । उनी भन्छन्, ‘तोडफोड र लुटपाटमा संलग्नहरूबारे सूक्ष्म निगरानी गरिरहेका छौँ ।’

प्रसाईँलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया