शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्ग पुनर्निर्माणका लागि जाइकाको आनाकानी

बिहिवार , चैत्र १३, २०८१

सिन्धुली – सरकारले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि जाइकाले आनाकानी गरेपछि सरकारले पुनर्निर्माणको प्रक्रिया अघि बढाएको छ । पुनर्निर्माण गर्ने खण्डलाई चार वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान थालिएको छ ।

क्षतिग्रस्त २९.५ किलोमिटर सडक दुई लेनमा विस्तारसहित पुनर्निर्माण गरिने छ । उक्त सडक पुनर्निर्माणका लागि सिन्धुलीतर्फ एउटा प्याकेज र काभ्रेतर्फ तीन वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान सुरु गरिएको हो ।

हालसम्म सिन्धुलीतर्फको एउटा र काभ्रेतर्फ दुई वटा गरी तीन वटा प्याकेजको ठेक्का आह्वान भइसकेको छ । सबै प्याकेजमा ठेक्का आह्वान गरिएको मितिबाट ३० दिनको समयभित्र निर्माण कम्पनीले आवेदन दिनुपर्ने उल्लेख छ ।

गत फागुन २८ गते पहिलो प्याकेज सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला खण्डको ठेक्का गरिएको हो, जसको लम्बाई करिब पाँच किलोमिटर छ । त्यस्तै दोस्रो प्याकेज काभ्रे खण्डको डालाबेसीदेखि चार सयबेसीसम्मको ठेक्का आह्वान भएको छ । ८.५ किलोमिटर खण्डमा चैत ५ मा ठेक्का आह्वान भएको हो ।

चार सयबेसीदेखि भकुन्डेबेसीको ११ किलोमिटर खण्डको चैत ७ गते ठेक्का आह्वान भइसकेको भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो । साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गर्न चासो देखाएको हुनाले अब बाँकी रहेको एउटा प्याकेज जाइकालाई दिनेबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

जाइकाको आनाकानी

डालाबेसीदेखि बर्खेखोलासम्मको करिब ५ किलोमिटर दुरीको अन्तिम प्याकेज जाइकालाई पुनर्निर्माण गर्न दिइने उहाँको भनाइ छ । मंगलबार मन्त्रालयमा जाइकासँग बीपी राजमार्ग पुनर्निर्माणबारे छलफल भएको थियो । सो छलफलमा बीपी राजमार्ग पुनर्निर्माण गर्नेबारे जाइकाले निर्णय गर्न नसकेको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिनुभयो ।

“ मंगलवार जाइकाको टोलीसँग छलफल भएको छ । छलफलमा जापानी नेपालका लागि जापानी राजदूत माएदा तोरु पनि थिए । तर बीपी राजमार्ग पुनर्निर्माण गर्नेबारे उनले निर्णय गर्न सकेनन्,” पोखरेलले भन्नुभयो, “राजदूत तोरुले मन्त्रीसँग छलफल गरेपछि मात्र निर्णय गर्ने बताएका छन् ।”

यसअघि पनि जाइकाले बीपी राजमार्ग पुनर्निर्माणका लागि पटक–पटक छलफल गरेको छ । महानिर्देशक पोखरेलकाअनुसार जाइकासँग ५–६ चरणमा छलफल भइसके पनि निर्माण गर्ने चासो देखाएर पनि आनाकानी गरिरहेको छ ।

यसअघि यो राजमार्ग जाइकाले आफ्नै आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरेको थियो । अहिले पुनर्निर्माणमा पनि चासो देखाएको थियो । बाढीले क्षति भएपछि गत कार्तिकमा जाइकाको टोलीले अध्ययनसमेत गरेको छ । साथै निर्माण गर्नेबारे पनि सकारात्मक भएको जनाएको छ तर निर्माणको प्रक्रिया अघि बढाउन भने आनाकानी गरिरहेको देखिन्छ ।

जाइकाले निर्माण गरेको हुनाले कूटनीतिक सम्बन्ध सकारात्मक राखिराख्न पुनर्निर्माणका लागि थोरै भाग छोड्नुपर्ने पोखरेलको भनाइ छ । “पुनर्निर्माण गर्ने भए छिटो प्रतिक्रिया दिए हुन्थ्यो । बरु हामी आफैँ निर्माण गथ्र्यौँ,” उहाँले भन्नुभयो, “तर निर्माण गर्छुमात्रै भन्छन् । हाम्रो सरकारसँग कुरा गर्छौं भन्छन् । अब एक साताभित्रमा यो विषय टुंगो लगाउँछौँ ।”

धुलिखेल–बर्दिबाससम्म करिब १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको सन् २००५ मा निर्माण सुरु गरेको थियो । करिब १० वर्षपछि २६ अर्ब येन लागतमा २०१५ मा यसको निर्माण सम्पन्न भएको थियो । यसपछि २०७२ सालको भूकम्पमा यो सडक क्षति पुगेको थियो । करिब ५ स्थानमा भासिएको यो सडक जाइकाले आफ्नै लागतमा पुनर्निर्माण गरिदिएको थियो । जाइकाले निर्माण गरिदिएको हुनाले पुनर्निर्माणका लागि पनि एउटा प्याकेज जाइकालाई दिने तयारी छ ।

गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले बीपी राजमार्ग भकुण्डेबेसीदेखि नेपालथोकसम्म करिब २९.५ किलोमिटर सडकमा क्षति पुगेको छ । जसमध्ये करिब ८.७ किलोमिटर सडक खण्ड नदीले कटान गरी पूर्ण रूपमा क्षति पुगेको छ । हाल अस्थायी ट्र्याक निर्माण गरी सञ्चालनमा ल्याइएको छ । साथै यो सडक वर्षामा समेत सहज रूपमा सवारी सञ्चालनका लागि दोस्रो चरणको अस्थायी पुनर्निर्माण भइरहेको छ । सरकारले यो राजमार्ग स्थायी पुनर्निर्माणका लागि साढे आठ अर्ब बजेट स्रोत सुनिश्चित गरेको छ ।

प्रतिक्रिया