सिन्धुली – सुनकोशी गाउँपालिका–३ का ६५ वर्षीय दयाँ बहादुर कार्की गत आइतबार जिल्ला प्रशासन कार्यालयमा सिन्धुली आउनुभएको थियो । सरकारले अहिले हरेक कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । उहाँसँग भएको पुरानो नागरिकताको अक्षर मेटिएको, च्यातिएको कारण स्पष्ट नदेखिएपछि उहाँले राष्ट्रिय परिचयपत्र बनाउन पाउनुभएन् । पहिले उहाँले नागरिकताको प्रतिलिपि लिनुपर्ने भयो । “बुवाको नागरिकता बुझिएन प्रतिलिपि बनाएपछि मात्र काम हुन्छ भन्नुभयो,” उहाँको छोराले भन्नुभयो,“अनि पहिले प्रतिलिपि बनाएर मात्र परिचयपत्र बनाइयो ।”
उहाँ जस्तै दजनौं मानिस अहिले प्रतिलिपि नागरिक बताउन दिनहुँ जिल्ला प्रशासन आउनेगर्दछन् । पुरानो नागरिकको जतन नगर्नु, हराउनु, विवरण मेटिनु लगायतका विभिन्न कारणले नागरिकताको प्रतिलिपि लिनेको संख्या बढेको प्रशासनका कर्मचारी बताउँछन् । भूकम्पमा परी धेरैको नागरिकता हराउँदा पनि जिल्ला समस्या भएको थियो । यस्ता विभिन्न कारणले जिल्लामा नयाँ नागरिकता लिने भन्दा प्रतिलिपि नागरिकता लिनेको सँख्या बढी रहेको देखिन्छ ।
जिल्लामा नागरिकता प्रमाणपत्र हराउने घटना बढ्दै गएका छन् । नागरिकता हराउनु व्यक्तिगत स्तरमा समस्या त हो नै, साथै प्रशासनिक प्रक्रियामा पनि झन्झट थपिएको छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिनका लागि आवेदन दिनेहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । नागरिकले आफ्नो नागरिकता प्रमाणपत्रलाई सुरक्षित राख्ने उचित उपाय नअपनाएको कारण नागरिकता हराउने गरेको प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार घर स्थानान्तरण गर्ने क्रममा नागरिकता हराउने घटना पनि हुने गरेको छ । साथै बाढी, आगलागी, भूकम्प जस्ता प्राकृतिक प्रकोपका कारण पनि नागरिकता प्रमाणपत्र नष्ट हुने गरेका छन् ।
केही घटनामा नागरिकता चोरी हुने वा हराउने घटना रिपोर्ट गरिएका उहाँले बताउनुभयो । नागरिकता हराउने समस्याले नागरिकलाई अनावश्यक झन्झट त थप्छ नै, साथै प्रशासनिक प्रक्रियामा पनि असर पार्ने गरेको प्रजिअ शर्माले बताउनुभयो । नागरिकले आफ्नो नागरिकता प्रमाणपत्रलाई सुरक्षित राखेर समेत उहाँले आग्रह गर्नुभयो । साथै उहाँले नागरिकता प्रमाणपत्रलाई प्लास्टिकको कभरमा राख्ने, फोटोकपीहरू सुरक्षित रूपमा राख्ने, र डिजिटल रूपमा स्क्यान गरी सुरक्षित स्थानमा भण्डारण गर्न समेत अनुरोध गर्नुभयो ।
यस आर्थिक वर्षको साउन देखि फागुन मसान्तसम्म ४ हजार ९ सय ३० जनाले नागरिकताको प्रतिलिपि लिएको प्रजिअ शर्माले बताउनुभयो । जसमा १ हजार ९ सय ६२ महिला र २ हजार ९ सय ६८ जना पुरुष रहेका छन् । नयाँ नागरिकता ६ हजार ८५ जनाले लिएका छन् । फागुन मसान्तसम्म ३ हजार १ सय ९३ जना महिला र २ हजार ८ सय ९२ जना पुरुषले नयाँ नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।