सिन्धुली – सिन्धुलीमा डडेलो नियन्त्रणका लागि पुर्वतयारी थालिएको छ । गर्मीयाम सुरु भएसँगै डडेलोको जोखिम बढ्न सक्ने भन्दै विभिन्न निकायहरूले पूर्वतयारी गरेका हुन् । डिभिजन वन कार्यालय, स्थानीय तह, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकाय डडेलो नियन्त्रण र न्यूनीकरणका लागि सचेतना कार्यक्रम संचालन गरिरहेका छन् । वन क्षेत्रमा सुक्खा घाँस, झाडी तथा पत्करका कारण आगलागीको जोखिम बढेको छ । यसलाई न्यूनिकरण गर्न विभिन्न रणनीतिक योजना साथै कार्यक्रम तयार गरिएको स्थानिय तहका जनप्रतिनिधिले बताएका छन् । स्थानीय तहको समन्वयमा समुदायलाई डडेलो रोकथामसम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको फिक्कल गाउँपालिकाले जानकारी दिएको छ ।
फिक्कल सब डिभिजन वन कार्यालयको समन्वयमा गाउँपालिका क्षेत्रमा वन डढेलो नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम साथै ¥याली संचालन गरिएको गाउँपालिकाको कार्यालय जानकारी दिएको हो । वन क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय वन समूहको नियमित गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार प्रहरीले समुदायसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम समेत संचालन गरेको छ ।
आगो नियन्त्रण उपकरण दमकल, पानी ट्यांकर, ब्लोअर मेसिन तथा अन्य उपकरण तयारी अवस्थामा राखिएको डिभिजन बन कार्यालय मरिणले जानकारी दिएको छ । आकस्मिक आगलागी नियन्त्रण गर्न स्थानीय स्वयंसेवक समूहहरू समेत तयारी अवस्थामा रहेका छन् । “डडेलो नियन्त्रणका लागि पूर्वतयारी पूरा भएको छ । यदि सबै पक्षले सावधानी अपनाए भने क्षतिको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।” डिभिजन वन कार्यालय सिन्धुली एक कर्मचारीले भने । स्थानीय सरकारले पनि सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै जथाभावी आगो लगाउन नहुने चेतावनी दिएको छ । यदि कतै डडेलो लागेमा तुरुन्तै नजिकको वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गर्न अनुरोध गरिएको छ । आगलागी भईहाले तत्काल नियन्त्रणमा सबैको सक्रियता र पहल हुन सक्नुपर्ने कमलामाई नगरपालिका ४ का शिक्षक स्याम प्रसाद न्यौपानेले बताउनुभयो । आगो लगाउने व्यक्तिलाई कानूनी कारवाही हुनुपर्ने उहाँले बताउनुभयो । अनि मात्र आगलागीको घटना रोकिने उहाँ बताउनुहुन्छ ।
वनमा डडेलो लगाउनेलाई कानुनी कारबाही हुने व्यवस्था भएपनि कुनै पनि व्यक्ति कारबाहीमा परेका छैनन् । वनमा डढेलो लाग्दा रुखविरुवा, नडिबुटी, वन्यजन्तु, चराचुरुङ्गी लगायतमा क्षति पुग्छ । हरियाली देखिने वन जंगल डढेलो पछि उजाडिन्छ । प्रकृतिमा समेत कुरुपता पैदा हुन्छ । त्यसैले यस्तो नियति प्रकृतिमा देख्न नपरोस् ।” उहाँले भन्नुभयो । जिल्लाको विभिन्न वनमा चैत देखि जेठ महिलामा वन डढेलोको वृद्धि हुने गरेको छ । यी महिनामा पानी कमै मात्रै पर्ने हुँदा सुख्खा हनुको साथै चर्को घामका कारण जमिनको पनि तापक्रम बढ्छ । यो बेला तीव्र वेगले हावा चल्छ । जसका कारण एक ठाउँमा बालेको आगोको झिल्को हावाको वेगसँगै अर्को स्थान, घर वा वनजंगलमा पुगी आगलागी हुने गर्दछ ।