सिन्धुली– त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिन्धुलीको सबैभन्दा ठुलो र पुरानो साथै नेता उत्पादन गर्ने प्रतिष्ठित क्याम्पस सिन्धुली बहुमुखि क्याम्पसमा १६ वर्षपछि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) ले जित हात पारेको छ । स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवारले बहुमतका साथ प्रमुख पद जित्दै क्याम्पसमा आफ्नो दबदबा पुनः स्थापित गरेका छन् ।
अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार तुलसिराम भुजेलले निकटतम प्रतिस्पर्धी नेविसंघका उम्मेदवार समिर विक्रम थापालाई ६४ मतान्तरले पराजित गर्नु भएको छ । यस्तै, भुजेलकै अर्को प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विनोद कुमार कार्कीलाई १४० मतान्तरले पराजित गर्नुभएकोहो ।
त्यस्तै, सचिव, कोषाध्यक्ष र सदस्यहरुमा समेत अनेरास्ववियु–अखिल क्रान्तिकारीको संयुक्त प्यानलले विजय हासिल गरेको छ । क्याम्पसमा वि.स २०६५ साल देखि स्ववियुको चुनाव भएको थिएन । उक्त वर्ष स्ववियु चुनावमा झगडा भएको कारण स्थगित भएको पुर्व स्ववियु सभापतिले बताएका छन् । क्याम्पसमा विगत १६ वर्षदेखि विभिन्न कारणले स्वतन्त्र विद्यार्थी संघको निर्वाचन हुन सकेको थिएन । हाल २०८१ सालमा स्ववियु चुनाव शान्तपूर्ण रुपमा सम्पन्न भएको हो । विद्यार्थीको निरन्तर प्रयास, क्याम्पस प्रशासनको सहमति र राजनीतिक दलहरूको चासोका कारण यस वर्ष चुनाव सम्भव भएको हो । मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो भने १२६८ मतदाता मध्ये ६७७ जनाले मतदान गरेका थिए ।
कसरी जित्यो अनेरास्ववियुले ?
अनेरास्ववियुले लामो समयदेखि विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्यालाई प्राथमिकतामा राख्दै आएको थियो । क्याम्पसमा शिक्षाको गुणस्तर सुधार, शुल्क वृद्धि विरुद्ध आन्दोलन, छात्रवृत्तिको व्यवस्था, पुस्तकालय तथा प्रयोगशालाको विस्तार जस्ता मुद्दाहरूमा संगठन निरन्तर सक्रिय रह्यो । यसपटकको चुनावमा अध्यक्ष तुलसिराम भुजेल जस्ता जोशिला र सक्षम उम्मेदवार मैदानमा उत्रिएकै कारणपनि जित संभव भएको अनेरास्ववियुका नेता लोकेन्द्र बोगटिले बताउनुभयो । उहाँका अनुसार जोशिला र सक्षम उम्मेदवारका कारण युवा विद्यार्थीलाई आफ्नो पक्षमा आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको हो ।
अनेरास्ववियुको योजना, विद्यार्थीसँगको घनिष्ठता र ठोस कार्ययोजनाले जिततर्फ अघि बढ्न मद्दत गरेको उहाँले बताउनुभयो । अनेरास्ववियुले डिजिटल प्लेटफर्म, व्यक्तिगत भेटघाट, पर्चा–पम्प्लेट तथा विभिन्न कार्यक्रममा सहभागिता मार्फत व्यापक प्रचार अभियान सञ्चालन समेत गरेको थियो । सामाजिक सञ्जालमार्फत आफ्नो योजनालाई प्रभावकारी ढंगले प्रस्तुत गर्नु पनि जितको मुख्य कारणहरू मध्ये एक रहेको नवनिर्वाचित स्ववियुका सभापत्ति तुलसिराम भुजेलले बताउनुभयो ।
अनेरास्ववियुले यस चुनावमा शिक्षा सुधार, भ्रष्टाचार विरुद्ध संघर्ष, विद्यार्थी अनुदान वृद्धि, खेलकुद र अतिरिक्त क्रियाकलापको प्रवद्र्धन जस्ता एजेन्डा प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने यस्ता मुद्दाहरूका कारण संगठनले ठूलो जनसमर्थन बटुल्न सफल भएको उहाँको भनाई छ । अन्य प्रतिस्पर्धी संगठनहरूबीच एकता अभाव, आन्तरिक द्वन्द्व, प्रभावकारी एजेन्डाको कमी तथा नेतृत्वप्रति विद्यार्थीहरूको असन्तुष्टिले नेरास्ववियुलाई सहज जिततर्फ उन्मुख गराएको विद्यार्थीले नेताले बताएका छन् ।
निर्वाचन जितेपछि नवनिर्वाचित अध्यक्ष भुजेलले यो जित सम्पूर्ण विद्यार्थीहरूकै जित भएको बताउँदै आगामी दिनमा शिक्षाको गुणस्तर सुधार, छात्रवृत्तिको व्यवस्था र क्याम्पस भौतिक पूर्वाधारको विकासका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, लामो समयपछि सम्पन्न निर्वाचनले विद्यार्थी राजनीतिलाई पुनः सक्रिय तुल्याएको भन्दै उहाँले सबै विद्यार्थी संगठनलाई सहकार्यका लागि आग्रह गर्नुभयो । १६ वर्षपछि भएको यस निर्वाचनले क्याम्पसको विद्यार्थी राजनीतिमा नयाँ युगको सुरुवात गरेको विश्लेषकहरू बताउँछन् । आगामी दिनमा नव निर्वाचित विद्यार्थी प्रतिनिधिहरूले आफ्नो प्रतिबद्धता पूरा गर्ने आशा गरिएको छ ।