सिन्धुली – सिन्धुलीमा विद्युत आपूर्तिमा समस्या देखिएपछि उपभोक्ताहरू हैरान भएका छन् । जिल्लामा दैनिक सयौँ पटक बिजुली गइरहेको गुनासो उपभोक्ताहरूले गरिरहेका छन् । अचानक बत्ती जाने र केही समयमा नै पुनः आउने प्रवृत्तिले घरायसी उपभोग मात्र नभई उद्योगधन्दा र व्यवसायमा समेत असर परेको छ ।
कमलामाई नगरपालिका ४ रायडिका सरोज थापाले भन्नुभयो्, “एकैछिन टिभी हेर्न बसेको, बिजुली जान्छ । मोबाइल चार्जमा राखेको, बत्ती झ्याप्पै जान्छ । यो समस्याले हैरान भएका छौँ ।” यसरी लगातार विद्युत अवरुद्ध हुँदा विद्युतिय उपकरणहरूमा समेत असर पर्ने विज्ञहरू बताउँछन् । लगातार बिजुली जानु र आउनुले फ्रीज, टिभी, वासिङ मेसिन, कम्प्युटर जस्ता उपकरणहरूमा असर पु¥याउने तथा कहिलेकाहीँ बिग्रिन सक्ने सम्भावना हुने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने सरोकारवालाहरूको भनाइ छ । सिन्धुलीमाढीका एक व्यवसायी भने, “बत्ती कहिले जान्छ, कहिले आउँछ थाहा हुँदैन। मेसिन चलाउनै गाह्रो छ, ग्राहकहरूलाई सेवा दिन नसक्दा हाम्रो व्यापार नै प्रभावित भएको छ ।” नेपाल विद्युत प्राधिकरणले यो समस्याको समाधानका लागि छिट्टै उचित कदम चाल्ने बताएको छ । तर उपभोक्ताहरू भने नियमित र स्थिर विद्युत आपूर्तिको माग गर्दै आवाज उठाइरहेका छन् ।
विद्युत प्राधिकरणले यस्तो समस्या पूर्णरुपमा प्राविधिक कारणले भएको बताउने गरेको छ । तर, २४ घन्टा उज्यालोमा बस्ने बानी परेका सर्वसधारणलाई ५ मिनेटमात्र पनि बत्ति जाँदा सकस हुन्छ । अझ पछिल्लो समयमा प्राधिकरणले बिजुलीको खपत बढाउन इन्डक्सनसहित विद्युतीय उपकरणको प्रयोग गर्न ग्राहकलाई आग्रह गर्दै आएको छ । त्यसमा भर परेर इन्डक्सन प्रयोग गर्न थालेका उपभोक्ता प्राधिकरणसँग क्रुद्ध भएका छन् । सिन्धुलीमाढीका दिनेश अधिकारीले भन्नुहुन्छ, ‘अहिले नै ग्यास चटक्कै छाडेर इन्डक्सनमा जाँदा भोकै बस्नुपर्ने अवास्था आउने डर हुने रहेछ,’ अघोषित विद्युत कटौतीले घरेलु ग्राहकभन्दा बढी व्यावसायिक र औद्योगिक ग्राहकलाई झन् मर्का पर्ने गरेको छ ।
जानकारी विना पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको सिन्धुलीमाढीका गिता कार्कि बताउनुहुन्छ । ‘जानकारी बिना नै बत्ती गइरहन्छ । मर्मत गरिरहेको साथै विग्रेको जानकारी पाए पुर्व तयारी गर्ने थियौँ । यसरी अस्वभाविक रुपमा बत्ती गइरहदाँ हैरान भएका छौँ ।’ उहाँले भन्नुभयो ।
नियमनकारी निकाय प्राधिकरणले भने हावाहुरी साथै वर्षा भएकाले अहिले विजुली गइरहने समस्या भएको हलुका जवाफ दिने गरेको छ । टाढाबाट विजुली आपूर्ती गर्नुपर्ने र बीच बीचमा आउने समस्याले गर्दा विजुली जाने आउने भैरहने विद्यूत प्राधिकरण सिन्धुली वितरण केन्द्रले जनाएको छ । ट्रान्समिटर पड्किने, जल्ने, हावाहुरीका कारण तार चुँडिने, बाढि पहिरोले पोल ढाल्ने र न्यून भोल्टेजको बिजुली आउने लगायतका समस्या रहेको प्राधिकरण नै स्वीकार छ ।