सिन्धुली – सिन्धुली बहुमुखि क्याम्पसमा स्ववियु ‐स्वतन्त्र विद्यार्थी युनियन) को निर्वाचनमा कहिल्यै क्याम्पस नआउने विद्यार्थी समिर विक्रम थापा चुनावी मैदानमा देखिनुभएको छ । उहाँ नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियुको सभापतिमा थापा उम्मेदवार हुनुहुन्छ ।
नियमित विद्यार्थी नभएका, कहिल्यै कक्षा नलिने तर राजनीतिक पहुँचकै भरमा उम्मेदवार बन्ने प्रवृत्तिले विद्यार्थी राजनीतिमा नैतिक संकट ल्याएको विद्यार्थीहरू बताउँछन् । विद्यार्थीहरू माझ परिचित नभएका र क्याम्पसका गतिविधिमा सहभागिता नजनाएका व्यक्ति उम्मेदवार बनेपछि अन्योलमा परेको क्याम्पसका एक विद्यार्थीले बताउनुभयो । उनले स्ववियु सभापतिका उम्मेदवार थापा पढ्न नआउने भए पनि नेतृत्व गर्ने दाबी गर्दै चुनावी मैदानमा उत्रिएको बताउनुभयो । उनले भने “ सभापतिका उम्मेदवार थापा बनेपछि हामी अच्चमित भएका छौँ । यस क्याम्पसको विद्यार्थी उहाँ पनि हुनुहन्छ भन्ने हामीलाई थाहै छैन । यस भन्दा अगाडि क्याम्पसको गतिविधि साथै कक्षामा उहाँलाई कहिले देखिएन । हामीले कसरी यस्ता उम्मेदवारलाई भोट दिने ?”
स्ववियु निर्वाचनकै लागि थापाले केहि समय अगाडि मात्रै बहुमुखिमा भर्ना भएका नाम नखुलाउने सर्तमा सिन्धुली सौगातसँग एक विद्यार्थीले भने । उनले भने, “थापा स्ववियु निर्वाचनकै लागि बहुमुखिमा भर्ना भएका हुन् । उहाँ कहिले क्याम्पस पनि आउनुहुन्न् । नेपाली काँग्रेस सिन्धुलीका सभापति तथा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको नजिकको व्यक्ति भएकाले उहाँले सभापतिको टिकट पाएको हो ।”
विद्यार्थी नेताका अनुसार संगठनले मात्रै समर्थन गरे पुग्ने प्रवृत्तिले विद्यार्थी राजनीति दिशाहीन बन्दै गएको छ । “क्याम्पसलाई कत्तिपनि चासो नदिने, विद्यार्थीहरूसँग कहिल्यै संवाद नगर्ने तर चुनावमा आएर ठूलो प्रचार गर्ने बानीले विद्यार्थी राजनीति भाँडिएको छ” एक विद्यार्थीले भने । बढी राजनीतिक पहुँच भएका मात्रै उम्मेदवार बन्ने प्रवृत्तिले चुनावी माहोल बिग्रँदै गएको विद्यार्थी बताउँछन् । “क्याम्पसका वास्तविक विद्यार्थीले प्रतिनिधित्व गर्नुपर्छ । तर बाहिरबाट आएका र क्याम्पससँग कुनै सम्बन्ध नभएकाहरू उम्मेदवार बन्ने क्रम बढ्दो छ ,” ति विद्यार्थी गुनासो गरे ।
सामाजिक सञ्जालमा मात्रै सक्रियता
क्याम्पसमा खासै उपस्थिति नहुनुभएका उम्मेदवार थापा चुनावी प्रचारका लागि सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउनुभएको छ । अहिले सामाजिक संजाल मार्फत थापाले आफ्नो एजेण्डा सार्वजनिक गरिरहनुभएको छ । मतदातालाई नै उहाँको एजेण्डा भने थाहा नभएको बताएका छन् । “हामीलाई भेट्न त आएका छैनन्, फेसबुक र टिकटकमा चाहिँ ठूला कुरा गर्छन् ” अर्का विद्यार्थीले भने । क्याम्पस निर्वाचन समितिका अनुसार उम्मेदवारको योग्यता निर्धारण गर्ने अधिकार विद्यार्थी संगठनहरूसँग हुन्छ । “हामीले उम्मेदवार छान्ने प्रक्रियामा हस्तक्षेप गर्न सक्दैनौँ, तर क्याम्पसमा सक्रिय विद्यार्थी नै अघि आउनुपर्छ भन्ने चाहना छ ।” समितिका एक अधिकारीले बताए ।
विद्यार्थीहरूले क्याम्पसमै उपस्थित हुने, उनीहरूसँग अन्तरक्रिया गर्ने र पढाइ तथा अन्य गतिविधिमा संलग्न उम्मेदवारलाई मात्रै समर्थन गर्नुपर्ने माग गरेका छन् । “हाम्रो प्रतिनिधि कस्तो हुनुपर्छ भन्ने निर्णय हामी आफैँ गर्नुपर्छ, बाहिरबाट ल्याइएका उम्मेदवारहरूलाई भोट दिन सकिँदैन ।“ एक विद्यार्थी भने । यदि यसरी क्याम्पसमा कहिल्यै नदेखिएका उम्मेदवारले मात्र नेतृत्व गर्ने अवस्था रह्यो भने विद्यार्थी राजनीति वास्तविक विद्यार्थीहरूसँग टाढिँदै जाने चिन्ता बढ्न थालेको छ ।