सिन्धुली – सिन्धुलीमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) को चुनाव स्थगित भएका क्याम्पसमा माहोल तातिएको छ । जिल्लाको सबै भन्दा पुरानो साथै नेता उत्पादन गर्ने थलोको रुपमा परिचित सिन्धुली बहुमुखि क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएसँगै चुनावको सरगर्मी झन् बढेको हो । निर्वाचन स्थगित भएका सुनकोशी क्याम्पस, भीमज्योति शिक्षा क्याम्पस खुर्कोट, सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार, गौमति बहुमुखी क्याम्पस माढीबजार र सिन्धुली बहुमुखि क्याम्पसमा विद्यार्थी नेताहरू आ–आफ्ना उम्मेदवारलाई जिताउन दौडधुप गरिरहेका छन् ।
राजनीतिक दलहरू पनि स्ववियु चुनावलाई विशेष चासोका साथ हेरिरहेका छन् । आफ्ना निकट संगठनहरूलाई जिताउन नेताहरू विद्यार्थीहरूसँग निरन्तर छलफल र भोट माग्ने कार्यमा व्यस्त छन् । उम्मेदवारहरू विद्यार्थीहरूलाई आकर्षित गर्न विभिन्न रणनीति अपनाइरहेका छन् । कतिपय उम्मेदवार चिया पसल, छात्रावास, पुस्तकालय र अन्य भीडभाड हुने स्थानहरूमा मतदाता भेटघाट गरिरहेका छन् । क्याम्पसभित्र चुनावी सभाहरू, पर्चा वितरण, सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तीव्र बनेको छ । तर, राजनीतिक दलहरूसँग आवद्ध उम्मेदवारहरूको गतिविधिले आम विद्यार्थीहरूलाई निराश बनाएको छ । शिक्षालाई प्राथमिकता दिनुपर्ने ठाउँमा विद्यार्थी नेताहरू व्यक्तिगत स्वार्थ, आक्रोशपूर्ण प्रचार र आन्तरिक किचलोमा केन्द्रित हुँदा स्वतन्त्र मतदाताहरू असन्तुष्ट देखिएका छन् । चुनाव नजिकिँदै जाँदा क्याम्पसमा दलगत राजनीति हावी भएको सिन्धुली बहुमुखि क्याम्पसका एक विद्यार्थीले सिन्धुली सौगातसँग बताएका थिए । उहाँले उम्मेदवारहरू आफ्ना पार्टीका ठूला नेताहरूको समर्थन खोज्न व्यस्त भएका कारण विद्यार्थीहरूको वास्तविक समस्याबारे बहस कम हुँदै गएको बताउनुभयो । केही स्थानहरूमा उम्मेदवारहरूबीच विवाद समेत सिर्जना भएको छ । पोस्टर टाँस्ने, झण्डा गाड्ने, र नाराबाजी गर्ने क्रममा केही समूहहरूबीच तनाव समेत बढेको छ ।
कमलामाई नगरपालिका ५ का विद्यार्थी विश्वदिप थापाले शिक्षामा सुधार, छात्रवृत्ति, यातायात सुविधा, पुस्तकालय विस्तार जस्ता विषयमा छलफल हुनुपर्ने बताउनुभयो । तर, अधिकांश उम्मेदवारहरू दलका एजेन्डालाई अघि सार्दै चुनावी माहोल तताउनमा मात्र सीमित देखिएका उहाँ बताउनुहुन्छ । “हामी चाहन्छौं कि विद्यार्थी नेताहरू शिक्षाका सवालमा केन्द्रित होऊन्, तर अहिले त दलका झण्डा बोक्ने काम मात्रै भइरहेको छ,“ उहाँले भन्नुभयो । क्याम्पस प्रशासनले पनि बढ्दो राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेको छ ।
यदि विद्यार्थी संगठनहरूले अनुशासन कायम नगरे भने चुनावी प्रक्रिया नै अवरुद्ध हुने सम्भावना रहेको प्रशासनको भनाइ छ । सुरक्षाकर्मीहरू निष्पक्ष र शान्तिपूर्ण वातावरण बनाउन तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उपरिक्षक गोबिन्द राज काफ्लेले बताउनुभयो । उहाँले कुनै पनि झैझगडा हुन नदिन क्याम्पस साथै भिडभाड हुने स्थानमा प्रहरी परिचालन गरिएको बताउनुभयो । चुनाव शान्तिपूर्ण, निष्पक्ष र लोकतान्त्रिक तरिकाले सम्पन्न होस् भन्ने अपेक्षासहित विद्यार्थी, प्रशासन तथा सुरक्षाकर्मीहरू आवश्यक तयारीमा जुटेका छन् । स्ववियु चुनाव विद्यार्थीहरूको नेतृत्व विकास गर्ने एउटा महत्वपूर्ण अभ्यास हो । तर, जब यसमा पार्टीगत राजनीति गहिरो रूपमा हावी हुन्छ, तब विद्यार्थीहरू निराश हुन थाल्छन् । स्वतन्त्र उम्मेदवारहरू तथा सचेत विद्यार्थीहरू निष्पक्ष र शिक्षामुखी चुनावको माग गरिरहेका छन् ।
स्ववियु चुनाव विद्यार्थी राजनीतिमा महत्वपूर्ण मानिन्छ । यसले आगामी दिनमा क्याम्पसको नेतृत्व मात्र नभई भविष्यका राजनीतिक पुस्तालाई समेत दिशा दिने भएकाले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको ध्यान यसतर्फ केन्द्रित भएको छ ।