शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा आयुर्वेदिक उपचार प्रभावकारी बन्दै

बिहिवार , चैत्र ६, २०८१

सिन्धुली – सिन्धुलीमा आयुर्वेदिक उपचारका सेवा प्रभावकारी बन्दै गएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले बुधवार जिल्लाका पत्रकार हरुसंग अन्तरक्रिया कार्यक्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुलीले विशेषज्ञ सहितको सेवा रहेको जानकारी दिएको हो । यस वर्ष झण्डै २० हजार बढी सेवाग्राहि पु¥याउने लक्ष्य रहेको आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुलीका निमित्त प्रमुख दिपक तिमल्सिनाले जानकारी दिनुभयो । विगतभन्दा दिन प्रति दिन आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुहुन्छ, “अन्य उपचारभन्दा कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्य भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो ।” विशेषगरी ग्यास्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उहाँले बताउनुभयो ।

आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुलीले बहिरंग सेवा, निःशुल्क औषधी, पञ्चकर्म र पूर्वकर्म, निशूल्क फिजियोथेरापी सेवा, निशुल्क योग सेवा, निशुल्क स्वास्थ्य जीवन प्रर्वधन कार्यक्रम, स–शुल्क फार्मेसी, निशुल्क स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक आयुर्वेद औषधी वितरण तथा प्रर्वधन कार्यक्रम, ज्येष्ठ नागरिक कार्यक्रम, अकुपञ्चर सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, जलौका अवचरण सेवा, अग्निकर्म सेवा, वस्तिकर्म सेवा, क्षारसुत्र एवम् mष्लयच यत सेवा, निशुल्क मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम हरेक बुधबार, निशुल्क स्वर्णविन्दु प्राशन कार्यक्रम हरेक महिनाको पुष्य नक्षत्रमा, निशुल्क पथ्य आहार कार्यक्रम र निशुल्क जानसन्धीगत वात पुनस्थापना कार्यक्रम स्वास्थ्य प्रवर्धन कार्यक्रम लगायतको सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले आयुर्वेदको प्रचार प्रसार अझ धेरै मात्रामा गर्न जरुरी रहेको बताउनुभएको छ । पछिल्लो समय बिभिन्न खोप तथा सावधानीका कारण सर्ने रोगबाट मानीसहरुको खासै ज्यान नगएपनि नसर्ने रोगको भयावह स्थिती रहेको उहाँले बताउनुभयो । नसर्ने रोगका कारण मानीसले ज्यान गुमाउनु परिरहेकाले समय समयमा आफ्नो स्वास्थ्य जाचँ, खानपान लगायतका कुरामा ध्यान दिनुपर्ने भएकाले यस्ता किसिमका जनचेतना फैलाउन आवश्यक रहेको उहाँको भनाई छ ।

आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन् । आयुर्वेदिक औषधिले अन्य औषधिभन्दा स्वास्थ्यमा कम असर पर्ने विषयमा जानकारी पाएसँगै स्थानीयमा विश्वास बढेको देखिन्छ । लामो समयसम्म ठूल्ठूला अस्पतालमा गएर एलोपेथिक विधिबाट उपचार गराउँदा रोग निको नभएको बताउँदै बिरामी उपचारका लागि आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुली पुग्ने गरेका छन् ।

आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको स्थानीयवासी ज्ञानी मायाँ लामाले बताउनुभयो ।“मेरो ग्याष्ट्रिकको समस्या छ । विभिन्न अस्पतालमा उपचार गराउन गएँ’, उनले भनिन्, ‘त्यति गर्दा पनि निको नभएपछि अहिले करिब एक महिनाबाट नियमित रूपमा यहाँ आएर उपचार गराउँदै छु । अहिले सुधार भइरहेको छ । यहाँ उपचार गराउन थालेपछि मेरो रोग निको भइरहेको छ,” उहाँले भन्नुभयो । यस्तै स्थानीय सन्तोष विकले पनि बाहिरका ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुवेर्दिक उपचारबाट निको भएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो,“खासमा हामीले यो उपचार पद्धतिबारे जानकारी नपाउँदा समस्यामा परेका रहेछौं । मेरो निकै लामो समयबाट ढाडमा समस्या थियो । उपचार गराउन विभिन्न शहरका ठूला अस्पतालमा गएँ तर अहिले यहाँ उपचार गराउन थालेपछि निको हुँदै गएको छ ।” बाथरोग, हार्डजोनी, अम्लपित्त, पायल्स लगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन् । नागरिकहरुले आयुर्वेदिक औषधिको महत्वबारे जानकारी हुन थालेपछि आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् ।

 

प्रतिक्रिया