काठमाडौँ – प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भनेर धारणा राख्ने पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई पार्टीको बैठकमा पदाधिकारीसहितका नेताले ¥याख¥याख्ती पारेका छन् । मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बोलाएर जिम्मेवार पदमा बसेको व्यक्तिले कानुनले बन्देज लगाएको विषयमा धारणा राखेको भन्दै नेताहरूले झपारेका हुन् ।
बैठक सुरु भएपछि बैठकमै रहनुभएका महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले सदनमा राखेको अभिव्यक्तिले पार्टीको बदनाम भएको बताउनुभएको थियो । उहाँहरूले महिला सांसदहरूले बुधबार बस्ने प्रतिनिधिसभा बैठक घिमिरेले बोलेको अभिव्यक्ति हटाउन माग राख्दै बेल घेर्ने तयारी गरेकोसमेत जानकारी गराउनुभएको थियो । उहाँहरूले त्यति भन्दाभन्दै केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, सीता गुरुङ, रामहरि खतिवडालगायत पुगेर पनि घिमिरेको अभिव्यक्तिका कारण पार्टीको बदनाम भएको बताएपछि उहाँलाई बैठकमा बोलाइएको थियो ।
“पदाधिकारीसहितका नेताहरूले प्रश्न उठाएपछि सभापतिज्यूले बोलाउन निर्देशन दिनुभयो । त्यसपछि बोलाएर नेताहरूले गाली गर्दै जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिन नमिल्ने बताउनु भयो । यस्ता व्यक्तिलाई पदमा कति समय राख्ने भनेर पनि सोच्नु पर्ने नेताहरूको धारणा थियो,” बैठकमा सहभागी एक पदाधिकारीले भने ।
सबै नेताहरू घिमिरेमाथि खनिएपछि उपसभापति पूर्णबहादुर खड्काले संरक्षणको प्रयास गर्नुभयो । घिमिरेलाई खड्काकै सिफारिसमा सभापति देउवाले प्रमुख सचेतक बनाउनुभएको थियो । अरू नेताहरूले घिमिरेको कार्यशैलीमाथि अहिलेमात्रै होइन पहिलेदेखि प्रश्न उठाएपछि सभापति देउवाले “किन यस्तो भइरहेको छ ?” भन्दै उपसभापति खड्कालाई सोध्नुभएका थियो । त्यसपछि खड्काले घिमिरेको प्रतिरक्षा गर्दै बुधबारको संसद् बैठकमा माफी माग्न निर्देशन दिनुभएको थियो ।
आफ्नो सिफारिसमा प्रमुख सचेतक बनेकाले हटाएमा आफ्नो सिफारिसमा पनि प्रश्न उठ्ने भएपछि उपसभापति खड्काले बुधबारको प्रतिनिधिसभा बैठकको सुरुवातमै माफी माग्ने भन्दै बचाउनुभएको थियो । “पार्टीको धारणा होइन, मेरो व्यक्तिगत धारणा हो । महिलाहरूको आत्मसम्मानमाथि आँच पुग्ने महसुस गरेकाले संसद्को रेकर्डबाट हटाउन आग्रह गर्दछु भन्नुहोला । र सबैसँग आत्मसम्मानमा आँच पु¥याउने अभिव्यक्ति दिएकोले क्षमा दिनुहोस् भन्दै माफी माग्नुहोला,” उपसभापति खड्काले प्रमुख सचेतक घिमिरेलाई निर्देशन दिँदै भन्नुभएको थियो ।
त्यसपछि पनि नेताहरूले प्रमुख सचेतक भएर पनि सदनमा बोल्दा कहिल्यै पार्टीको धारणा नराख्ने र आफ्नो स्वार्थका अभिव्यक्ति मात्रै दिने गरेको भन्दै रोष प्रकट गरेका थिए । खड्काबाहेक अर्जुननरसिंह केसीले मात्र घिमिरेको प्रस्तावको समर्थनमा बोल्नुभएको थिययो ।
प्रमुख सचेतक घिमिरेले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने बताउनुभएको थियो । मनोरञ्जन क्षेत्रलाई पनि प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने उहाँको दाबी थियो ।
काँग्रेस केन्द्रीय सदस्यसमेत रहनु भएका घिमिरेले व्यक्त गरेको धारणाको अहिलेमात्रै होइन, यसअघि पार्टी केन्द्रीय समितिमा पनि आलोचना भएको थियो । घिमिरेले गत साउन २८ गते केन्द्रीय समिति बैठकमा पार्टीको मूल आदर्शका रूपमा रहेको समाजवाद शब्दलाई हटाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो ।
नेपाली काँग्रेसले स्थापनाकालदेखि नै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ । घिमिरेले कम्युनिस्ट र काँग्रेस भिन्न पार्टी रहेको देखाउन पनि ‘समाजवाद’ पार्टीको सिद्धान्तबाट हटाउनुपर्ने माग गर्नु भएको थियो । त्यसबेला उहाँको त्यो अभिव्यक्तिको केन्द्रीय समिति बैठकमै विरोध गरेका थिए ।