सिन्धुली – सिन्धुलीको मरिण,कमलाखुज,सिन्धुलीमाढी लगाएतका फाँटहरुमा डेढ दशक अघिसम्म धान, गहुँ, मकै र समय अनुसारको अन्नवाली लहलह झुलेको हुन्थ्यो । अन्नवालीले यहाँका फाँटहरु निकै हरिया हुन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिना सम्म खान पुग्थ्यो । तर, जब सडक बनेर गाडीहरु कुद्न थाले यहाँको अवस्था फेरियो । अन्न फल्ने हरिया फाँटहरु अब कंक्रिटाका घरले भरिन थालेका छन् ।
सिन्धुलीको अधिकांस फाँटको उर्वर जमिनमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ । सिन्धुलीका अधिकांस सडकको पहुँच पुगेका ठाउँहरुको अवस्था पनि यस्तै छ ।
जिल्लाको अन्न भण्डार र प्रांगारिक खेतीको गाउँका रूपमा परिचित फाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कंक्रिटको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् ।
धमाधम खेतियोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको छ । एक त खेतियोग्य जमिन नै छैन, अर्को भएको जमिनमा पनि जाँगर लगाएर खेतिपाती गरिदैँन । कमलामाई नगरपालिका ६ का नारायण बहादुर थापाले भन्नुभयो , “बाली झुल्नु पर्ने खेतका फाँटमा घर ठडिए पछि अन्नवालीको उत्पादनमा कमी आएको छ । आयतित खाद्यन्नमा निर्भर रहनुपरेको छ ।”
खेती गरेर उत्पादित कृषि जन्य वस्तुको भन्दा बढी पैसा जग्गा बेच्दा कमाउन थालेपछि किसानले धमाधम जग्गा बेच्न थालेका स्थानीयको भनाइ रहेको छ । खेतियोग्य जमिन घडेरी बनाउँनको लागि बेच्न थाले, फलस्वरुप अहिले स्थानीय उत्पादनमा सिन्धुली अघि बढ्न सकेको छैन । सडक पुगेपछि जिल्लाको विकासमा सहजतामा आएपनि कृषि योग्य जमिन मासिँदै जान थालेको छ ।
सिन्धुलीको मरिणका र कमलाखुज क्षेत्रका फाँट जिल्लाकै अन्न भण्डारको रूपमा चिनिन्छ । जिल्लाका विभिन्न स्थानबाट बसाइँ सरेर बगरफाँटमा घडेरी किनी घर बनाएर बस्ने व्यक्तिका कारण उर्वर फाँट मासिँदै गएको स्थानीयवासीले बताएका छन् ।
सिन्धुलीमा नि वटा राष्ट्रियराजमार्ग निर्माण भएपछि खेति योग्य फाँटहरुमा बस्ती विस्तार र जग्गाको किनबेच हुने क्रम बढेको मरिण गाउँपालिका स्थानीय शम्भु कार्कीले बताउनु भयो । यही क्रममा बस्ती विस्तार हुँदै जाने हो भने केही समयपछि बगरफाँटको उर्वर भूमि सखाप हुने उहाँको भनाइ छ ।
“जिल्लामा न त आधुनिक खेति प्रर्णालीको विकास हुन सकेको छ न त रैथाने परम्परागत कृषि पेशालाई राम्रोसंग अपनाउन सकिएको छ” कार्कीले भन्नुभयो “किसानले खेतियोग्य जमिन बेच्नु बाहेकको विकल्प छैन ।”
१५ वर्ष यताको तथ्यांक हेर्ने हो भने खेतलाई घडेरी बनाउने होडका कारण यहाँको आधा भन्दा बढि जमिन घटिसकेको छ । अहिले आयातित खाद्यन्नको भरमा यहाँको जनजीवन चलेको छ । दैनिक दिन खेतियोग्य जमिनमा पक्की भवन ठडिदा समेत कसैले खेतियोग्य जमिनको पक्षमा वकालत गरेका छैनन् । बाहिरका मानिस सदरमुकाममा बसाइसरेर आएका छन् भने सदरमुकाम आसपासका मानिस खेतियोग्य जमिन बेचेर काठमाडौ, जस्ता शहरमा जाने क्रम बढेको छ । अव्यवस्थित सहरीकरणले पनि खेतियोग्य जमिनमा असर परेको स्थानीय बताउँछन् ।
सहरी जीवनले पनि खेतीसँगको मोह घटाएको छ । अहिले यहाँका बुढापाकाले खेतिपातीको काम गर्दै आइरहेको भएपनि युवाहरु पढाई, लेखाई र अन्य व्यापार व्यवसायमा संलग्न देखिएका छन् ।