शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा राष्ट्रिय कला महोत्सव हुँने

शुक्रवार , फाल्गुण ३०, २०८१

सिन्धुली – कला घर सिन्धुलीको आयोजनामा सिन्धुलीमा राष्ट्रिय कला महोत्सव हुने भएको छ । कला घर सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा रहेको निर्माणाधिन कला घरको परिसरमा राष्ट्रिय कला महोत्सब संचालन हुन लागेको जानकारी दिएको हो ।

कला घर सिन्धुलीको आयोजनामा “नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिकमा रमाऔ” भन्ने मुल नाराका साथ यहि चैत्र २८ गते देखि बैशाख ३ गते सम्म महोत्सब संचालन हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा कला घर निमार्णको महाअभियानमा हातेमालो सँगै मौलिक कला संस्कृतिको प्रवद्र्धन साथै कलाघरका कलाको प्रचार गर्ने उदेश्यले राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कला घर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले जानकारी दिनुभयो । उहाँले रैथाने खेल, रैथाने संस्कृति र रैथाने कला कृषिको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा रहेको बताउनुभयो ।

पाँच दिन सम्म संचालन हुने महोत्सबमा १० भन्दा बढी जातजातिको झाकी प्रदर्शन, नेपाली मौलिक परम्परागत झल्कने घरहरुको नमुना बनाई मौलिक खानेकुराहरुको परिकारहरु प्रर्दशन तथा खानको लागी व्यवस्था, दर्शक स्वयम् सहभागिता हुने विभिन्न मौलिक तथा प्रतियोगितात्मक मनोरञ्जनका खेलहरु संचालन गरिने छ ।

साथै, हस्तकला, चित्रकला, मूर्तीकला लगायत कलाहरुको प्रदर्शन तथा व्यापार, विद्यार्थीहरुबाट निर्मित विज्ञान तथा विभिन्न कलाहरुको प्रद्र्धशन, विद्यालय स्तरीय नृत्य, गायन तथा चित्रकला प्रतियोगिता, मार्शलआर्टका विभिन्न खेल कला प्रर्दशन र स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा विक्री वितरण गरिने सिन्धुली कला घरले जनाएको छ ।

महोत्सबमा कला घर स्थापनाकाल देखि आर्थिक, भौतिक नैतिक रुपमा सहयोग गर्नुहुने व्यक्ति, संघ संस्था, संचारकर्मी तथा सरकार, क्षेक्रगत आधारमा सिन्धुली जिल्लामा त्रियाशील मौलिक झाकी संस्कृती समुहहरुलाई सम्मान गरिने आयोजकले जनाएकोछ ।

प्रतिक्रिया