शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्ग निर्माणको ठेक्का प्रक्रिया पूरा गर्न तीन महिना लाग्ने

शुक्रवार , फाल्गुण ३०, २०८१

सिन्धुली — बाढीले क्षति पु¥याएको ६ महिनापछि बीपी राजमार्गको सिन्धुली खण्ड निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । ३० दिनको समय तोकेर बुधबार ठेक्का आह्वान गरिएको हो । पाँच किलोमिटरको खण्डमा दुई लेन सडक बनाइनेछ ।

ठेक्का प्रक्रिया पूरा गर्न तीन महिना लाग्ने सडक डिभिजन खाल्टे, सिन्धुलीका प्रमुख पारसमणि हमालले बताउनुभयो । नेपालथोक–बर्खेखोला खण्डमा सडक निर्माण गर्ने गरी ठेक्का गरिएको हो । “बर्खाअघि ठेक्का सम्झौता गरेर निर्माण व्यवसायी निर्माणस्थलमा परिचालन हुनेछन्,” हमालले भन्नुभयो, “निर्माण भने बर्खापछि मात्र सुरु हुन्छ ।” बर्खाअघि निर्माण व्यवसायीले तयारीका सबै काम सक्ने उहाँको भनाइ छ ।

“अहिले सामान्य बाढी आउँदा सडक चलाउने गरी अस्थायी मर्मतको काम भइरहेको छ,” उहाँले भन्नुभयो, “ठाउँ–ठाउँमा ग्याबिन वाल लगाइँदै छ ।” काभ्रे खण्डको ठेक्का पनि केही दिनभित्रमै लगाउने तयारी रहेको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताउनुभयो । “अब धेरै ढिला गर्दैनौं, ठेक्का गर्न सडक विभागमा लागत अनुमान पेस गरिसकेका छौं,” योगेशले भन्नुभयो, “त्यो स्वीकृत हुनासाथ ठेक्का आह्वान हुन्छ ।”

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई पर्खिंदा ढिलाइ भए पनि अब ठेक्का गर्न नरोकिने उहाँले जनाउनुभयो । “जाइकाबाट अहिलेसम्म केही निर्णय आएको छैन,” उहाँले भन्नुभयो, “अब पर्खिएर ढिला गर्दैनौं, ठेक्का प्रक्रिया अघि बढाउँछौं ।” काभ्रेमा तीन र सिन्धुलीमा एकसहित चार प्याकेज बनाएर निर्माणको काम अघि बढाइने योगेशले जनाउनुभयो ।

दुई वर्षभित्र निर्माण सक्ने गरी ठेक्का आह्वान गरिने योगेशको भनाइ छ । काभ्रे खण्डमा २३ किमि सडक बनाइनेछ । “काभ्रे र सिन्धुली खण्ड गरेर २८ किलोमिटरमा दुई लेनको स्ट्यान्डर्डअनुसार सडक निर्माण हुन्छ,” उहाँले भन्नुभयो, “निर्माणका लागि स्रोत सहमति पाइसकेका छौं ।” बाढीले क्षति गरेको भकुन्डेबेसीदेखि नेपालथोक सडक खण्डको स्थायी निर्माण गरिनेछ । सवारी चाप बढी भएको बीपी राजमार्गमा छिटो सक्ने गरी नै निर्माणको काम गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता भीमार्जुन अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया