शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीका स्थानीयतहकोे एन्ड्रोइड एप प्ले स्टोरबाट गायब

बुधवार , फाल्गुण २८, २०८१

सिन्धुली — सिन्धुली जिल्लाका केही स्थानीय तहले नागरिकलाई सूचना तथा सेवा प्रवाहलाई डिजिटल बनाउन लाखौं रुपैयाँ खर्चेर बनाएका एन्ड्रोइड मोबाइल एप हाल प्ले स्टोरबाट गायब भएका छन् । दशौं लाख खर्चिएर बनाइएका ती एपहरू अहिले उपलब्ध नभएपछि नागरिकहरूले सहज रूपमा डिजिटल सेवा पाउन नसकिरहेको गुनासो गरेका छन् ।

सिन्धुलीका केही पालिकाहरूले आफ्नो सेवा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउन भन्दै ठूला बजेट विनियोजन गरी मोबाइल एप बनाएका थिए । तर ती एप लामो समयसम्म अद्यावधिक (अपडेट) नगरिएको, प्रविधिको उचित मर्मत सम्भारमा ध्यान नदिइएको र एप व्यवस्थापनमा कमजोरी देखिएको कारण प्ले स्टोरबाट हटाइएको हुनसक्ने विज्ञहरूको अनुमान छ ।

स्थानीय बासिन्दाहरूका अनुसार एपहरू नहुँदा अनलाइनमार्फत विवरणहरू बुझाउने, कर तिर्ने, सिफारिस लिनेजस्ता डिजिटल सेवामा समस्या देखिएको छ । एक स्थानीयबासीले भने, “सरकारले हामीलाई प्रविधिमैत्री सेवा दिन्छु भनेर लाखौं खर्च ग¥यो, तर अहिले त त्यो एप नै चल्दैन । फेरि कार्यालय धाउनुपर्ने बाध्यता छ ।“

यस विषयमा सम्बन्धित स्थानीय तहका अधिकारीहरूलाई सम्पर्क गर्दा केहीले प्रविधि पक्षमा कमजोरी स्वीकार गरे भने केहीले समस्या समाधानका लागि छिट्टै पहल गरिने बताए ।

प्रविधि विज्ञहरू भन्छन्, “एउटा एप बनाउनु मात्रै समाधान होइन । त्यसको नियमित मर्मत सम्भार, अपडेट र सुधार आवश्यक छ। नत्र लाखौं खर्च गरे पनि त्यस्तो एप चलिरहन सक्दैन ।” अब स्थानीय तहले ती एपहरूलाई पुनः प्ले स्टोरमा उपलब्ध गराउन र नागरिकलाई सहज सेवा दिनका लागि आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया