सिन्धुली – जिल्लाको सदरमुकाम सिन्धुलीमाडीस्थित खुल्ला मञ्चमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आयोजना गरिएको बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला शुक्रबारबाट सुरु भएको छ । सौगात लद्यु उद्यम सहकारी संस्था, सिन्धुलीको आयोजना मुना कृषि लिमिटेड भक्तपुरको सह–आयोजना र बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयसहित जिल्लाका सरकारी–गैरसरकारी संघसंस्थाहरुसँगको साझेदारीमा मेला सुरु गरिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने मेलाको उदघाटन जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख कारसाङ लामाले खुल्ला मञ्च अगाडी रहेको जमिनमा तितेपातीको विरुवा रोपेर गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख लामाले यस मेलाले कृषि उद्यमशीलताको प्रवद्र्धनका लागि प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महिला कृषि उद्यम मेलाले स्थानीय महिलालाई प्रोत्साहन गर्ने मात्रै होइन, उनिहरुलाई आत्मानिर्भर बन्ने अवसर प्रदान गर्छ र सम्रग उद्यमशीलताको प्रवद्र्धनमा योगदान पुग्ने छ ।”
मेला सफलताको शभकामना व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले महिलाहरुको सीपलाई आर्थिक रुपमा रुपान्तरण गर्न आश्यकता रहेको धारण राख्नुभयो । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको प्रवद्र्धन अपरिहार्य रहेको उहाँको भनाई छ । “उद्यमीहरुको उत्पादनलाई बजारसँग जोड्न सकियो भने मात्रै दीगो आर्थिक विकास सम्भव छ,” उहाँले भन्नुभयो ।
उद्यमशीलतालाई प्रोत्साहन गर्ने, नवप्रवर्तनलाई उत्साहित गराउने तथा स्थानीय स्रोतसाधनको स्थानीय जनशक्तिबाटै उपयोग गराउनु मेलाको उद्धेश्य रहेको मेला व्यवस्थापन समितिका संयोजक विमला कुमारी भुजेलले बताउनुभयो । उहाँकाअनुसार मेलामा ३६ वटा उद्यमसँग सम्बन्धित स्टलहरु राखिएको छ । जहाँ ५० जनाभन्दा बढी महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिन्छ । साथै, योगाभ्यास, बालबालिकाहरुका लागि मनोरञ्जनात्मक गतिविधिहरु, विभिन्न प्रतियोगिता, रैथाने खाना, प्रविधि र सीपको प्रस्तुती, नवप्रवर्तन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, महिलालाई उद्यममा अवसर र चुनौती विषक छलफल, महिला नेतृत्व र उद्यमशीलता सम्बन्धी विभिन्न कार्यक्रमसमेत मेलाका मुख्य आकर्षण हुनेछन् । मेला अवलोकन गर्न आउनेहरुलाई उद्यमीहरुले दुध र मोही निशुल्क खुवाउने गरेका छन् ।
मेलाको पहिलो दिन शुक्रवार विद्यार्थीहरुको कृषिसँग सम्बन्धित अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा नवज्योति वहिरा माध्यमिक विद्यालय प्रथम, सिन्धुली पाठशाला द्धितिय र सिद्धस्थली अंग्रेजी माध्यमिक विद्यालय तितिय भएको छ । प्रथम, द्धितिय र तितिय हुनेहरुलाई क्रमश पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
मेलामा १० हजारभन्दा बढी अवलोकनकर्ता अवलोकन आयोजकको अपेक्षा छ । उद्यमी, किसान, व्यवसायी, विद्यार्थी, सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहने बताइएको छ । सिमित बजेट र स्थानीय श्रोतमा पनि महत्वपूर्ण कार्य गर्न सकिन्छ भन्ने कुराको उदाहरण मेलाले प्रस्तुत गर्ने आयोजक समितिका सदस्य विमला श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार मेलाको अनुमानित लागत १० लाख रुपैयाँ रहेको छ ।