सिन्धुली — सिन्धुली जिल्लामा करोडौं रुपैयाँको लागतमा निर्माण गरिएका भ्यु टावरहरू उचित सञ्चालन र संरक्षणको अभावमा प्रयोगमा नआउँदै जीर्ण बन्दै गएका छन् । स्थानीय तह र सरोकारवाला निकायले पर्यटन प्रवद्र्धनको लक्ष्य राखेर निर्माण गरेका यस्ता संरचनाहरू अहिले देखभालको अभावमा जीर्ण अवस्थमा छन ।
कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका लगायतका क्षेत्रहरूमा आकर्षक भ्यु टावरहरू निर्माण गरिए पनि ती अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन्। कतिपय टावर निर्माण सम्पन्न भएर पनि आवश्यक पूर्वाधार र व्यवस्थापन नहुँदा प्रयोगविहीन बनेका छन् ।
स्थानीयबासी र पर्यटन व्यवसायीहरू भन्छन्, “यी भ्यु टावरहरूले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्न सक्थे । तर निर्माण पछि तिनको उचित व्यवस्थापन र प्रचारप्रसार नहुँदा अहिले जीर्ण बन्दै गइरहेका छन् ।”
करोडौं रुपैयाँको लगानीमा बनेका यी संरचनाहरू संरक्षण अभावमा क्षतिग्रस्त हुँदै जानु राज्यको योजना निर्माण र कार्यान्वयनमा देखिएको कमजोरीको प्रतिविम्ब हो । स्थानीय सरकार र सरोकारवाला निकायहरूले चाँडोभन्दा चाँडो उचित योजना बनाएर भ्यु टावरहरूको मर्मत र सञ्चालनमा ध्यान दिनुपर्ने माग स्थानीयबासीले गरिरहेका छन् ।