दुधौली, सिन्धुली — दुधौली नगरपालिकामा मेयर र उहाँको परिवारको नाम जोडिएका गम्भीर अनियमितताका विषयमा स्थानीयस्तरमा चर्को चर्चा भइरहेको छ । नगरपालिकाको स्रोतसाधनको प्रयोग, व्यापारिक स्वार्थ र सार्वजनिक पदको दुरुपयोगबारे गम्भीर आरोपहरू बाहिर आएका छन् । चुनढुंगा खानी सञ्चालनदेखि नगरपालिकाका ठेक्कासम्म, मेयरकै परिवारको एकलौटी हस्तक्षेप रहेको गुनासो बढ्दो छ ।
चुनढुंगा खानी र मेयरको ट्रिपर व्यवसाय
दुधौली–१४ मा रहेको चुनढुंगा खानीबाट दैनिक रूपमा ठूलो मात्रामा ढुंगा निकालिने गरिएको छ । स्थानीय स्रोतका अनुसार, खानीबाट ढुंगा बोक्ने ६ वटा ट्रिपर मेयरकै स्वामित्वमा रहेको दाबी गरिएको छ । यद्यपि ती ट्रिपरहरू कानुनी रूपमा अन्य व्यक्तिका नाममा दर्ता गराइएकाले प्रत्यक्ष रूपमा मेयरको नाम जोडिएको छैन ।
स्थानीय बासिन्दाहरूले खानीको उत्खनन र ढुंगा ओसारपसारमा अनियमितता भएको भन्दै चासो व्यक्त गरेका छन् । खानीबाट संकलित ढुंगा बिना कुनै पारदर्शी प्रक्रिया बिचौलियामार्फत बेचेको र नगरपालिकाको ढुंगा निकासीमा उचित करसमेत तिरेको नदेखिएको आरोप स्थानीयहरूको छ ।
“हामीले पटक–पटक खानीको पारदर्शी व्यवस्थापनको माग गर्यौं, तर नगरपालिकाले ध्यान दिएको छैन । मेयर आफैंको ट्रिपरले खानीका ढुंगा ओसार्ने र नाम अरूको देखाइने खेल भइरहेको छ,” नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीय भन्छन् ।
नगरपालिकाका ठेक्कामा मेयरकी श्रीमतीको हार्डवेयरको एकलौटी
यससँगै अर्को गम्भीर आरोप मेयरकी श्रीमतीले सञ्चालन गरेको हार्डवेयर व्यवसायसँग जोडिएको छ । स्थानीय ठेकेदारहरूका अनुसार, नगरपालिकाबाट जारी हुने अधिकांश ठेक्कामा प्रयोग हुने सामग्री सोही हार्डवेयरबाट खरिद गर्न दबाब दिने गरिएको छ ।
“यदि मेयर साहेबकी श्रीमतीको हार्डवेयरबाट सामान नकिने हो भने बिल पास हुँदैन । यसरी आफूले पदको दुरुपयोग गरेर व्यक्तिगत व्यापार फस्टाइँदैछ, जुन सरासर गलत हो,” एक स्थानीय ठेकेदार नाम नखोल्ने शर्तमा भन्छन् ।
नगरपालिकाले सार्वजनिक खरिद ऐन र प्रक्रिया मिचेर एउटा निजी व्यवसायलाई फाइदा पुर्याएको विषयमा सम्बन्धित निकायले अहिलेसम्म कुनै अनुसन्धान थालेको छैन ।
स्थानीयहरूको मागः निष्पक्ष छानबिन र पारदर्शिता
यस्ता आरोपहरूबीच स्थानीय जनतामा आक्रोश बढ्दो छ । नगरपालिकाको सार्वजनिक स्रोत र सेवामा पारदर्शिता अभाव देखिएको भन्दै स्थानीयहरूले तत्काल छानबिनको माग गरेका छन् ।
“जनताले निर्वाचित गरेर पठाएको प्रतिनिधिले जनताको सेवा गर्नुपर्ने हो । तर यहाँ त आफ्नै स्वार्थ पूर्तिमा नगरपालिकाको सम्पूर्ण स्रोतको दुरुपयोग भइरहेको छ । यसको छानबिन हुनैपर्छ,” स्थानीय बासिन्दा विष्णु घिसिङले भन्नुभयो ।
यस विषयमा मेयर पक्ष भने मौन देखिएको छ । पदको दुरुपयोग, पारदर्शिताको अभाव र व्यापारिक स्वार्थले नगरपालिकाको विकासमा गम्भीर असर पुर्याउने भएकाले सम्बन्धित निकायले छिटोभन्दा छिटो निष्पक्ष छानबिन गर्नु जरुरी देखिन्छ ।