शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

विपी राजमार्गमा सुरुङ मार्ग बनाउने जापानको प्रस्ताव

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं – अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेसँगै ५ महिनाअघि बाढीले बगाएको बिपी राजमार्गको पुनर्निर्माण अगाडि बढाउन लागिएको छ । पुनर्निर्माणका लागि टेण्डर आह्वानको तयारी गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव भीमार्जुन अधिकारीले अर्को सातासम्म टेण्डर आह्वान गर्ने तयारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार टेण्डको सूचना निकाल्न अहिले अन्तिम चरणको रिभ्यु भइरहेको छ ।

बाढीले क्षतविक्षत भएको बिपी राजमार्गलाई चार खण्डमा विभाजन गरेर ठेक्का लगाउन लागिएको छ । “ठेक्का आह्वान गर्न साथीहरुले अन्तिम चरणको रिभ्यु गरिरहेका छन् । अर्को हप्तासम्म ठेक्का आह्वान हुन्छ,” अधिकारीले भन्नुभयो, “४ वटा खण्डमा विभाजन गरी ठेक्का लगाउने योजना बनेको छ ।”

गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण बिपी राजमार्गको १२ किलोमिटर सडक खण्ड पूर्णरुपमा क्षतिग्रस्त बनेको थियो । राजमार्ग पुनर्निर्माणका लागि अर्थ मान्त्रालयले फागुन ६ गते बल्ल साढे ८ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको थियो ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार ठेक्कामा फास्ट ट्र्याक विधि अपनाइने छैन । कार्यालय प्रमुख सुमन योगेशले अरु विकास आयोजनामा जस्तै सामान्य प्रक्रिया अपनाएर काम अगाडि बढाउने बताउनुभयो ।

“सुरुमा फास्ट ट्र्याकमा ठेक्का लगाउने तयारी थियो । तर, जे गरेपनि आगामी वर्षामा काम सुरु गर्न नसकिने भएपछि सामान्य प्रक्रियाबाटै ठेक्का आह्वान गर्न लागिएको हो,” योगेशले भन्नुभयो, “हामीले काम छिटो गर्नका लागि चारवटा प्याकेजमा ठेक्का लगाउने भएका छौं ।”

उहाँका अनुसार तीन वटा ठेक्का २ अर्बभन्दा बढीको हुनेछ । एउटा ठेक्का भने एक अर्ब वरिपरिको हुनेछ । “तीन वटा प्याकेजमा अलि धेरै काम गर्नुपर्नेछ । त्यसैले ठेक्का २ अर्ब भन्दा बढीको हुनेछ । सिन्धुलीपट्टिको प्याकेज भने कम रकमको हुनेछ,” उहाँले भन्नुभयो ।

कार्यालयले तयार पारेको ठेक्काको प्रस्ताव अहिले सडक विभाग र मन्त्रालयले रिभ्यु गर्ने काम गरिरहेका छन् । “हामी फागुन २० गते नै टेण्डर आह्वानको तयारीमा थियौं । तर, विभाग र मन्त्रालयबाट स्वीकृत गराउनुपर्ने भएकोले थप समय लाग्यो। अर्को हप्तासम्म टेण्डरको सूचना आउँछ,” योगेशले भन्नुभयो ।

सुरुङ मार्ग बनाउने जापानको प्रस्ताव

सडक डिभिजन कार्यालयले टेण्डर आह्वानको तयारी गरिरहँदा राजमार्ग पुनर्निर्माणमा जापानले पनि चासो देखाएको छ । जापानले सुरुङ मार्ग बनाउन प्रस्ताव गरेको छ । जापानी टोलीले मंगलटार क्षेत्रको मोडिएको डाँडो छेडेर माम्ती क्षेत्रमा सुरुङ मार्ग बनाउन प्रस्ताव गरेको हो । त्यसका लागि जापानी प्राविधिकहरुले अध्ययन थालेका छन् ।

योगेशले जापानी सहयोग नियोग जाइकाको परामर्शदाता निकोनले बाढीले क्षतिग्रस्त क्षेत्रमा सुरुङमार्ग बनाउन अध्ययन थालेको जानकारी दिनुभयो । निकोनले जाइकासँग मिलेर नेपालका साथै श्रीलंकाका आयोजनामा काम गर्दै आएको छ ।

सरकारले बाढीले क्षति पुगेलगत्तै राजमार्ग पुनर्निर्माणका लागि जापानसँग गुहार मागेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी राजदूतलाई बालुवाटार बोलाएर सहयोगका लागि आग्रह गर्नु भएको थियो । तर, जापानले सहयोगको बचन दिएन । जापिानलाई कुरेर बस्दा पाँच महिना वित्यो ।

त्यसपछि सरकार आफैं पुनर्निर्माण गर्ने गरी अगाडि बढेको हो । “हामीले ५ महिनासम्म जापानलाई कुर्यौं । तर उताबाट सहयोग गर्ने जवाफ आउन सकेन । त्यसपछि सरकारले आफ्नै लगानीमा बनाउने प्रक्रिया अगाडि बढाएको हो,” योगेशले भन्नुभयो, “अहिले जापानले सुरुङ मार्गको प्रस्ताव गरेपनि अब हामी रोकिंदैनौं । हामी पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउँछौं । अध्ययनले सम्भाव्यता देखियो भने सुरुङ मार्ग उनीहरुले नै बनाउलान् ।” बिपी राजमार्ग एक दशकअघि जापानले अनुदान सहयोगमा बनाइदिएको हो ।

 

प्रतिक्रिया