सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ४ खाङसाङमा हालै निर्माण सम्पन्न भएको प्रहरी चौकीको भवन मंगलवार उदघाटन गरिएको छ ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला एबम् कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेश प्रहरी नायब महानिरीक्षक कृष्णहरी शर्माले संयुक्त रुपमा मंगलवार प्रहरी चौकीको नवनिर्मित भवनको उदघाटन गर्नु भएको हो ।
उदघाटन कार्यक्रममा बागमती प्रदेश प्रहरी नायब महानिरीक्षक कृष्णहरी शर्माले बागमती की प्रदेशको शान्ति सुरक्षाको अबस्था सन्तोषजनक रहेको बताउनुभयो । नागरिकहरु बर्दिबिनाका प्रहरी भन्दै उहाँले आपराधिक गतिविधि नियन्त्रणमा आफ्नो क्षमता, दक्षताको उपयोग गर्न आव्हान गर्नुभयो । “आफ्नो ठाउँको शान्ति सुरक्षामा खलल नपुगोस भनेर आफै सचेत रहनुपर्छ” उहाँले भन्नुभयो, “अपराधिक गतिविधि भए गरेको थाहा भएमा त्यसलाई नियन्त्रण का लागि प्रहरीलाई सुचना दिनुहोस, हामी नियन्त्रण गर्नेछौं ।” प्रहरी कार्यालयहरु अब सुविधा सम्पन्न र प्रविधिमैत्री हुदै जाने उहाँको भनाई छ ।
समारोहमा फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले यस चौकीले सामुदायिक सुरक्षा र प्रहरी–जनता सम्बन्धलाई अझ मजबुत बनाउने बताउँदै योजनाबद्ध रूपमा सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने बतानुभयो ।
बागमती प्रदेश सरकारको २ करोड ४६ लाख २१ हजार ५ सय चौबीस रुपैयाँ २० पैसा लागतमा आर आर बिल्डर्स चरिकोट दोलखाले २०८० असोज १५ गते निर्माण सम्झौता गरेको थियो ।
स्थानीय बासिन्दाहरूले पनि यस नयाँ प्रहरी चौकीको स्थापनालाई सकारात्मक रूपमा लिँदै यसले क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउने आशा व्यक्त गरेका छन् ।
यो प्रहरी चौकी स्थानीय बासिन्दाहरूको सुरक्षा, अपराध नियन्त्रण र आपत्कालीन सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको हो । नयाँ चौकीले क्षेत्रमा प्रहरीको उपस्थिति बढाउनुका साथै अपराधिक गतिविधिहरू नियन्त्रण गर्न पनि मद्दत गर्ने अपेक्षा छ ।