सिन्धुली – देशव्यापी महिलावादी अनुपम यात्रा अभियानअन्तर्गत सोमबार सिन्धुलीमा महिला अधिकारकर्मीहरूले र्याली निकालेका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल, सिन्धुलीको समन्वयमा भएको ८४ मा महिला पहिले भन्ने “अनुपम यात्रा” नाराका साथ र्याली कमलामाई नगरपालिका–७ बुद्ध नगर चोकबाट सुरु भई जुनार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागी महिला अधिकारकर्मीहरूले २०८४ सालको निर्वाचनमा महिलालाई प्रमुख पदमा पुर्याउनु पर्ने, राजनीतिमा महिलाहरूको जिम्मेवारी सुनिश्चित गर्नुपर्ने तथा पुरुषसरह समान अवसर प्रदान गर्नु पर्ने माग राख्दै नारा लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले महिलालाई सधैं सहायक भूमिकामा सीमित गरिँदा महिलाका मुद्दाहरू किनारा लागिरहेको बताउनुभयो । नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको संलग्नता नभएसम्म सुशासन र समतामूलक समाज निर्माण असम्भव रहने उहाँको भनाइ थियो । उहाँले अबको निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउने लक्ष्य पूरा गर्न महिलाहरू एकजुट हुनु पर्ने विचार व्यक्त गर्नुभयो ।
महिलावादी अनुपम अभियानकी सदस्य बिन्दा ठटाल ले २०८४ सालको निर्वाचनलाई केन्द्रित गर्दै महिला निर्णायक तहमा नपुगेसम्म महिलाका मुद्दाहरू ओझेलमा पर्ने भएकाले यो अभियान महत्वपूर्ण रहेको बताउनुभयो । दलगत स्वार्थभन्दा माथि उठेर महिलाहरूले एकता प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ थियो ।
महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अप्सरा खड्काले महिला हिंसा, विभेद र अन्यायका विरुद्ध आवाज उठाउँदै राजनीतिक तहमा महिलाको सहभागिता सुनिश्चित गर्न दबाब दिने उद्देश्यले यो अभियान सुरु गरिएको जानकारी दिनुभयो । २०८४ सालको निर्वाचनमा योग्यता र क्षमताका आधारमा महिलाहरूलाई समान अवसर प्रदान गर्नु पर्नेमा उहाँको जोड थियो । ¥यालीमा महिला अधिकारकर्मी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।