सिन्धु्ली – गत माघमा विपि राजमार्ग अन्र्तगत सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुदाँ चालकको मृत्यु भयो । खनियखर्क नजिकै भएको दुर्घटनामा चालकको मृत्यु भएको हो । सडकबाट झण्डै तीन सय मिटर तल गाडि खसेको थियो । तिव्र गतिको कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । घुम्तीमा स्पिड रहेकाले गाडी सडक तल खसेको प्रत्यक्षदर्शीले बताएका थिए । यस्तै, शनिबार विपि राजमार्ग अन्र्तगत सिन्धुलीको मुल्कोटमा इभि गाडि दुर्घटना हुदाँ आठ जना घाइते भए । घाइतेको उपचारका लागि काठमाडौँ पठाइएको छ । तीव्र गतिको कारण गाडि सडकको डिभाइजरमा ठोकिएर दुर्घटना भएको हो ।
जिल्लामा पछिल्लो समय विद्युतीय गाडि तीव्र गतिको कारण दुर्घटना भइरहेको छ । विद्युतीय गाडीहरू तुरुन्तै उच्च गतिको स्पीड लिन सक्ने क्षमताका कारण नयाँ चालकहरूलाई नियन्त्रण गर्न गाह्रो हुने भएकाले दुर्घटना बढेको काठमाडौँ सिन्धुली चल्ने इभि गाडिका चालक सन्तोष देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु गाडी जस्तो हुदैन यो विद्युतीय गाडी, यसको एक्सिलेटर छुने वित्तिकै कुदछ । अरु गाडी भन्दा बढी कुद्ने बढी स्पिड हुने भएकाले थाहा नहुनेलाई समस्या हुन्छ । हलुका भएकाले बढी स्पिड हुन्छ ।”
विद्युतीय गाडीमा प्रयोग हुने “रेजेनेरेटिभ ब्रेकिङ“ प्रणाली समेत फरक रहेको उहाँले बताउनुभयो । परम्परागत गाडीमा जस्तै ब्रेक लगाउने बानीले दुर्घटनामा पर्ने गरेको उहाँको भनाई छ । उहाँका अनुसार विद्युतीय गाडीहरू तुलनात्मक रूपमा नयाँ भएकाले केही चालकहरूलाई यसको प्रणाली बारेमा राम्रो ज्ञान हुदैन । विशेष गरी स्वचालित ड्राइभिङ फिचर भएका गाडीहरूमा चालकले पूर्ण नियन्त्रण छोड्दा दुर्घटनाको सम्भावना बढ्न सक्ने उहाँ बताउनुहुन्छ । “विद्युतीय गाडी तुलनात्मक रूपमा नयाँ भएकाले केही चालकहरूलाई यसको प्रणाली बारेमा राम्रो ज्ञान नहुन सक्छ । विशेष गरी स्वचालित ड्राइभिङ फिचर भएका गाडीहरूमा चालकले पूर्ण नियन्त्रण छोड्दा दुर्घटनाको सम्भावना बढ्न सक्छ ।” उहाँले भन्नुभयो ।
सिन्धुलीमा कति भए इभि गाडि दुर्घटना ?
सिन्धुलीमा इभि गाडि दुर्घटना बढेको छ । बढी राजमार्गले छोएको जिल्ला भएकाले दुर्घटना बढेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जिल्लामा कति इभि गाडी दुर्घटना भए भन्ने तथ्यांक भने छैन । प्रहरी कार्यालयमा मुद्धा दर्ता भएका मात्रै रेर्कड भएको प्रहरीले बताएको छ । चालु आर्थिक वर्षमा दुई वटा इभि गाडि दुर्घटनाको मुद्धा दर्ता भएको थियो । सो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
यस्तो भन्नुहुन्छ प्रहरी प्रमुख काफ्ले
सिन्धुलीमा पछिल्लो समय इभि गाडि दुर्घटना बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । तिव्र गतिको कारण इभि गाडी दुर्घटना हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्युतीय गाडीको तीव्र एक्सेलेरेसनलाई नियन्त्रण गर्न सही तालिम आवश्यक छ । विद्युतीय गाडीहरूको लागि उचित संकेतहरू (सडक चिन्ह, लेन विभाजन) थप गर्न सकिने प्रउ काफ्लेले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले सम्पूर्ण सवारी साधन दुर्घटनाको रेकड राखेको उहाँ बताउनुहुन्छ । “इभि मात्रै भनेर छुटै रेकड भने छैन । दुइ पांग्रे, चार पांग्रे सवारी दुर्घटना भनेर रेर्कड हुन्छ । मुद्धा परेमा त्यसको रेकड भने हुन्छ ।” उहाँले भन्नुभयो ।