सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा टोकन प्रणाली लागु भएको छ । कार्यालयबाट प्रदान गरिने सबै प्रकारका सेवाहरूलाई व्यवस्थित,सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्न जिल्ला प्रशासनमा टोकन प्रणालीको सुरुवात गरेको प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले बताउनुभयो ।
आइतबार बिहान ९ः४५ बजे प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले दुधौली नगरपालिका–४ निवासी ६८ वर्षीय कृष्ण कुमारलाई पहिलो टोकन प्रदान गरी सेवा शुभारम्भ गर्नुभयो । कार्यालयका प्रशासकीय अधिकृत प्रविण कटवालकाअनुसार अब हरेक दिन बिहान ९ः४५ देखि टोकन वितरण गरिनेछ ।
टोकन प्रणालीले सेवा प्रक्रियालाई सुव्यवस्थित बनाउँदै सेवाग्राहीहरूलाई लामो समय लाइनमा बस्नुपर्ने झन्झट हटाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशासनमा सेवा लिन आउने नागरिकहरूले तोकिएको समयमा टोकन प्राप्त गरी सहज रूपमा आफ्नो काम गराउन सक्नेछन् ।”
सरकारी सेवा प्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख छ । कार्यालयबाट प्रदान गरिने सबै प्रकारका सेवाहरूलाई व्यवस्थित र पहुँचयोग्य बनाउन टोकन प्रणाली लागू गरिएको उहाँले जानकारीदिनुभयो ।