शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा सवारी दुर्घटनाः आठ जना घाइते

शनिवार , फाल्गुण १७, २०८१

सिन्धुली ,१७ फागुन – विपी राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुल्कोटमा आज दिउसो सवारी दुर्घटना भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२–००१ ज ००६ नम्बरको ईभी गाडी अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएकोको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनेहरूमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तीलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन् ।

प्रहरी उपरिक्षक काफ्लेकाअनुसार घाइतेहरूको अवस्था खतरा मुक्त रहेको छ र उनीहरूलाईई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाईएको छ । सवारी चालक, सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी २४ वर्षीय सुजन बल भने सकुशल रहेका छन् ।

घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा गाडी तीव्र गतिमा रहेको र त्यसकै कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । सवारी चालकलाई नियन्त्रणमा लिएर दुर्घटना बारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया