शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

हरिहरपुरगढी–सिन्धुलीगढी ‘एकीकरण पदयात्रा’ समापन

बिहिवार , फाल्गुण १५, २०८१

सिन्धुली, – नेपाली सेनाले महाशिवरात्री तथा २६२ औं सेना दिवस–२०८१ को अवसरमा ऐतिहासिक हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको एकीकरण पदयात्रा सम्पन्न गरेको छ । नेपाली सेनाको भवानीबक्स गण र ९ नं. बाहिनी अड्डाअन्तर्गतका युनिटहरूको सक्रिय सहभागितामा फागुन ७ गते हरिहरपुरगढीदेखि सुरु भएको एकीकरण पदयात्रा बुधबार सिन्धुलीगढी पुगेर सम्पन्न गरेको हो ।

नेपाली सेनाका ४५ जनाको समूहले आठ दिनसम्म लगाएर ७५ किलोमिटर पदयात्राको मुख्य उद्देश्य नेपाल एकीकरणका क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गहरूको पहिचान, संरक्षण तथा संवद्र्धन गर्नु रहेको थियो ।

पदयात्राको अन्तिमदिन बुधवार सिन्धुलीगढी आइपुगेका नेपाली सेनाका अधिकृत तथा जवानहरुलाई कमलामाई नगरपालिका, सिन्धुलीले एक विशेष समारोहको आयोजना गरेर स्वागत गरेको थियो । पदयात्रीलाई स्वागतगर्दै कमलामाई नगरपालिका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले यस पदयात्राले ऐतिहासिक हरिहरपुरगढी किल्ला देखि सिन्धुलीगढी सम्म पदयात्रा गरेर पर्यटकिय क्षेत्रलाई चिनाउन थप मद्धत गरेको बताउनुभयो । उहाँले नेपाली सेनाले आठ दिने कठिन यात्रा गरेको भन्दै सम्मान ब्यक्त गर्नुभयो । नेपाली सेनाले जिल्लामा विपद् पर्दादेखि अन्य अप्ठ्यारो समयमा सहयोग गर्ने गरेको भन्दै उहाँले पदयात्राले जिल्लाको पर्यटकिय क्षेत्रलाई चिनाउन र संरक्षण गर्न सहयोग पुग्ने बताउनुभयो ।

पदयात्राले पुर्खाहरुको इतिहासलाई जगेर्ना गर्न सहयोग पुगेको नगर प्रमुख पोखरेलको भनाई छ । ऐतिहासिक क्षेत्रको संरक्षण हुनुका साथै पदयात्राले पर्यटकलाई बढाउनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । नेपाली सेनाको सहकार्यमा सिन्धुलीगढीलाई ऐतिहासिक पर्यटकिय क्षेत्रको रुपमा तिब्र विकास भइरहेको र थप विकास गर्न स्थानिय सरकार तयार रहेको नगर प्रमुख पोखरेलको भनाइ छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले कठिन पदयात्रा गरि नेपाली सेनाले पदमार्गको संरक्षण गरेको बताउनुभएको छ । उहाँले ऐतिहासिक दरबार तथा किल्लाहरुको संरक्षण सबैले गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा श्री नं.९ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी युवराज कार्कीले यस गढी तथा सामरीक भूगोलको महत्व हिजो, आज र भविष्यमा पनि महत्वपूर्ण रहेको हुंदा यो सँग परिचित हुन अत्यन्तै जरुरी भएको बताउनुभयो ।

त्यस्तै श्री भवानीबक्स गणका गणपति वद्री कुंवरले नेपाली सेनाको नीति तथा कार्यक्रममा समावेश भएको ऐतिहासिक एकिकरण पदमार्ग कार्यक्रम अन्तरगतको हरिहरपुरगढी देखि सिन्धुलीगढी सम्मको पदयात्रा कार्यक्रम विगतको वर्षमा पनि भएको जानकारी गराउनुभयो । हरिहरपुरगढी सिन्धुलीगढी यस जिल्लाको पहिचान हुनुका साथै सामरिक दृष्टिकोणले समेत इतिहास बोकेको भन्दै अंग्रेज फौजको आक्रमण विरुद्ध लडाई लडी विरपुर्खाहरुले विरता प्रर्दशन गरि विजयी हासिल गरेको गणपति कुंवरले स्मरण गराउनुभयो । वर्तमानमा आएर इतिहासका पाना बनेका गढीको संरक्षण गर्नु सबैको कर्तव्य भएको उहाँको भनाइ छ ।

गणपति कुंवरका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ स्थित ऐतिहासिक हरिहरपुरगढी किल्लाबाट एकीकरण पदयात्रा निस्किएका नेपाली सेनाको टोली जितपुर भिमगड, सेपाह, मरिण गाउँपालिकाको खलंगा, मधुवनी, घ्याङ्लेख गाउँपालिकाको चन्दनपुर, फापरचुली, सुनकोशी गाउँपालिकाको बन्दीपुर, मतानबास, नागीहुँदै कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढी आइपुगेको हो ।

प्रतिक्रिया