सिन्धुली – शिवरात्रीलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले सिन्धुलीमा सुरक्षा व्यवस्था कडा बनाएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरीक्ष गोबिन्दराज काफ्लेले शिवरात्रीमा भाङ गाँजा लगाएतका नसालु पर्दाथ सेवन गरी हुलदंगा गर्नेलाई कुनै पनि हालतमा नछोड्ने बताउनुभयो । प्रहरीले यसपालीको शिवरात्रीमा भाङ लगायतका लागुपदार्थ प्रयोग गरिएको कुनै पनि खाद्य पदार्थ विक्री वितरण र प्रयोग गर्न नदिने भएको छ ।
शिवरात्रीका बेला शिवको प्रसाद भनि भाङ हालेको मिठाई, जुस, पकौडी लगायतका परिकार खाने चलन छ । मुलुकमा भाङ, चरेश र गाँजा प्रतिबन्धित भएकाले यसलाई यसपालीको शिवरात्रीमा पूर्णरुपमा रोक लगाइने प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । पर्व मनाउने नाममा शिवरात्रीमा गाँजा, भाङको प्रयोग गरी विगतमा ठूला ठूला घटना भएकाले प्रहरीले यसपाली शिवरात्रीमा कडा सुरक्षा व्यवस्था गरेको हो ।
प्रहरी उपरीक्षक काफ्लेले भाङ खाएर महिलाहरुमाथि अभद्र व्यवहार गर्ने र उनीहरुको सामान तथा गहना लुट्ने गरेको पाइएकोले यसपालीको शिवरात्रीमा डबल लोड बोकेका मोटरसाइकललाई कडा चेकजाँच गर्ने बताउनुभयो । उहाँले भाङजन्य पदार्थ विक्री वितरण गर्नेलाई पनि पक्राउ गरी मुद्दा चलाउने बताए । उनले शिवरात्री मेला लाग्ने मन्दिर वरपर प्रहरीको कडा गस्ती रहने बताउनुभयो ।जिल्लाको मुख्य पाँच क्षेत्रका शिवालयमा भक्तजनको घुइँचो हुने गरेको छ । सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । झण्डै २ सय बढी प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । सम्भावित दुर्घटनालाई मध्येनजर गर्दै जिल्लाका भित्रि सडक साथै राजमार्गमा सवारी चेकजाँच कडाइ समेत गरिने छ ।
शिवको प्रसाद गाँजा
“शिवको भक्ति, गाँजाको शक्ति” सिन्धुलीको अधिकाशं युवाको मुखबाट निस्कने शब्द हो । यतिबेला शिवरात्रीको लागि जिल्लाको युवा गाँजा खोज्न व्यस्त नै देखिन्छन् । “शिव रात्रीमा गाँजा खानै पर्छ । शिवको प्रसाद हो । प्रसाद जोहो गर्ने पर्यो ।”
अहिले सिन्धुलीमाढीमा युवा बिच हुने छलफल । ग्रामिण क्षेत्रमा गाँजा किन्न पाउने भन्दै युवाहरु गाउँ पसेको स्थानियले बताएका छन् । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, “अहिले गाउँगाउँमा केटाहरु गाँजा खोज्न पुगेका छन् । विषेश गरि सिन्धुलीको चपौली, मरिण, हरिहरपुगढी र सुनकोशीमा गाँजा विक्री हुन्छ । सोहि स्थानमा युवाहरु देखिन्छन् । अहिले धेरै केटाहरुको छलफल नै गाँजा कहाँ पाइन्छ र कसरी ल्याउने भन्ने हुन्छ ।” बजार क्षेत्रमै खुलेआम गाँजा विक्री हुने गरेको उहाँले बताउनुभयो ।
विगतका वर्षमा शिवरात्रीमा जिल्लाको शिवालय मन्दिर क्षेत्रमा समेत शिवको प्रसाद भन्दै गाँजा, भाङ लगाएतको लागुऔषध खुवाउने र खाने देखिन्छ । “अगाडिको वर्ष शिद्धबाबा मन्दिर निजिकै, मन्दिर जाने स्थान लड्डु बेच्न थिए । लडुमा भाङ राखेर प्रसाद भनेर खुवाउ थे । शिवको प्रसाद भनेर गाँजा भाङ, धतुरो खाएर बाटो मै लड्ने झैझगडा हुने धेरै हुन्छ ।” कमलामाई नगरपालिका ४ का एक स्थानीयले भन्नुभयो । प्रहरी कै अगाडि शिवको प्रसाद भन्दै गाँजा, भाङ लगाएत लागुऔषध खाने र खुवाउने गरेपनि व्यवास्ता गरेको उहाँले बताउनुभयो ।