शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कमलामाई नगरपालिकाले तार व्यवस्थापन गर्दै

सोमवार , फाल्गुण १२, २०८१

सिन्धुली – कमलामाई नगरपालिका, सिन्धुलीले सडक, बजार तथा आवासीय क्षेत्रहरूमा फैलिएको अव्यवस्थित विद्युतीय तार व्यवस्थापन गर्न थालेको छ ।नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण तथा सरोकारवालाहरुसँगको समन्वयमा अव्यवस्थित विद्युतीय तार व्यवस्थापन गर्न लागेको हो ।

विभिन्न ठाउँमा विद्युत, इन्टरनेट, टेलिफोन तथा केबल टिभीका तारहरू जथाभावी झुन्डिएका कारण नगरक्षेत्रको सौन्दर्यमा असर पर्नुका साथै दुर्घटनाको जोखिम पनि बढेकाले अव्यवस्थित तार व्यवस्थापन कार्य अगाडी बढाइएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुन्दर शहर, सम्पन्न नागरिक बनाउने अभियान नगरपालिकाको प्राथमिकतामा छ । सोहीअन्तर्गत आज सिन्धुलीमाढी बजार क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन कार्यको सुरुवात गरेका छौँ ।”

आइतबार नगरक्षेत्रका पुराना र प्रयोगविहीन तार हटाउने, आवश्यक तारहरू व्यवस्थित गर्ने कार्यमा कर्मचारीहरुसँगै नगरप्रमुख पोखरेल आफैँ खटिनु भएको थियो ।

नगरप्रमुख पोखरेलको नेतृत्वमा सुरु गरिएको यो कार्यको स्थानीयबासिन्दाहरूले प्रशंसा गरेका छन् । स्थानीय युवा समिर विक्रम थापाले भन्नुभयो “यत्रतत्र अव्यवस्थित पमा फैलिएका तारहरूले जोखिम बढाएको थियो । अब व्यवस्थापन भएपछि नगरक्षेत्रको सौन्दर्य पनि बढ्छ र दुर्घटनाको जोखिम पनि घट्छ ।”

नगरक्षेत्रका अव्यवस्थित विद्युतीय तार व्यवस्थापन गर्ने कार्य चरणबद्ध रूपमा हुनेछ । पहिलो चरणमा मुख्य बजार क्षेत्रका तार व्यवस्थापन गर्ने र त्यसपछि अन्य ठाउँमा विस्तार गर्दै जाने नगरपालिकाले योजना बनाएको छ ।

प्रतिक्रिया