शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौँ – बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक देखिएको छ । गत असोजको दोस्रो साताको बाढी पहिरोका कारण क्षति पुगेको उक्त राजमार्ग पुनर्निर्माण गर्न जापान सकारात्मक देखिएको सडक

“कूटनीतिक मर्यादा ख्याल गर्नुपर्छ । जापानले सहयोग गर्ने भन्ने छ । त्यो विषय टुंगियो कि टुंगिएन भन्ने विषयमा नेपाल सरकार, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा सोध्नुपर्ने हुन्छ,” विभाग स्रोतले भन्यो, “अनुदान दिने कि ऋण सहयोग गर्ने फाइनल भएको छैन । ऋण आउने हो या अनुदान सहयोग आउने हो । आउने हो भने ठाउँ छाड्नु पर्‍यो । न भए आफ्नो हिसाबले काम गर्नुपर्‍यो ।”

सोमबार जाइकाको टोलीले भौतिक पूर्वाधार यातायात मन्त्रालय र विभागसँग थप छलफल गर्ने कार्य तालिका छ । सो छलफलले सबै विषय टुंगो लाग्ने विभाग स्रोतको भनाइ छ । उक्त विषय टुंगे लागेपछि स्थायी पुनर्निर्माणका लागि ठेक्का आह्वान हुने विभाग स्रोतले बताएको छ ।

गत मंगलबार मात्रै अर्थ मन्त्रालयले बीपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत सहमति दिएको थियो । यो राजमार्ग पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको हो । यसमध्ये बीपी राजमार्ग भक्तपुर खण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र बीपी खुर्कोट खण्डलाई एक अर्ब रुपैयाँको स्रोत सुनिश्चितता भएको छ । यसमध्ये यी दुवै खण्ड निर्माणका लागि चालु वर्षमा एक अर्ब ७० करोड रुपैयाँ विनियोजन हुने भएको छ । यसैगरी अस्थायी सडक पुनर्निर्माणका लागि बीपीको दुवै खण्डमा २१ करोड २५ लाख विनियोजन हुने जनाइएको छ ।

जापानले सहयोग गरे स्विकार्ने

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जाइकाले पुनर्निर्माणबारे अध्ययन गरेको हुनाले निर्माणमा पनि सहयोग गर्नसक्ने बताए । तर, निर्णय आइनसकेकाले यसै हो भन्न नसक्ने भण्डारीले तर्क गर्नुभयो ।

“जाइकाले पहिला पनि अध्ययन गरेको भन्ने आएको थियो । तर निर्माणका लागि उहाँहरूको निर्णय आउनुअघि नै स्रोत सहमति गरियो । त्यसअनुसार यो वर्ष ८८ करोड निकासा पनि भएको छ,” प्रवक्ता भण्डारीले भन्नुभयो, “पहिला पनि उहाँहरूले बनाइदिएको सडक हो । जापान सरकारले फेरि पनि सहयोग भए स्वीकार गर्न सकिन्छ ।”

पुनर्निर्माणमा ढिला भएका कारण विपद् प्राधिकरणको विपद् कोषको रकमबाट बजेट खर्च गर्नेगरी स्रोत सहमति भएको उहाँले बताउनुभयो । “मन्त्रालय हुँदै अगाडि बढाएको कुरा हो । अलिकति ढिला पनि हुन्छ कि भनेर पनि होला,” प्रवक्ता भण्डारीले भन्नुभयो, “भौतिक मन्त्रालयले स्रोत मागेपछि स्रोत सहमति दिएका हौँ ।”

बीपी राजमार्ग (धुलिखेल–बर्दिबास) करिब १६० किलोमिटर लामो सडक जापान सरकारकै आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको हो । सन् २००५ मा जापानले निर्माण सुरु गरेको यो राजमार्ग सन् २०१५ मा सम्पन्न भएको थियो, जसको लागत २६ अर्ब येन बराबर छ ।

२०७२ सालको भूकम्पमा करिब ५ स्थानमा यो सडक भासिएको थियो । त्यतिबेला पनि जापान सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरिदिएको थियो ।

गत असोजको दोस्रो साता आएको बाढीले बीपी राजमार्गको भकुण्डेबेसी–नेपालथोक खण्डमा ८.७ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको छ । यो खण्ड पूर्ण रूपमा नदीले कटान गरेको हुनाले तत्काल पुनर्निर्माण गर्न सकिने अवस्था छैन ।

यो सडक निर्माणका लागि दुई वर्ष लाग्ने सरकारको प्रारम्भिक अध्ययनले देखाएको छ । तत्कालका लागि सरकारले पहिलो चरणको अस्थायी पुनर्निर्माण गरेर असोज अन्तिमदेखि नै सञ्चालनमा ल्याएको थियो । तर उक्त सडक अहिले सञ्चालनमा आएको भएतापनि वर्षायाममा सञ्चालन गर्न कठिन छ ।

जापानी पक्षसमेतसँग छलफलपछि स्थायी रूपमा पुनर्निर्माणका लागि सडक विभागले १० दिनभित्र ठेक्का आह्वान गर्नेगरी तयारी गरेको विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताउनुभयो । “सरकारले स्रोत सहमति दिइसकेको छ । के कसरी ठेक्का आह्वान गर्ने भन्ने विषयमा छलफल हुँदैछ,” उहाँले भन्नुभयो,“जतिसक्दो छिटो बीपी राजमार्ग ठेक्का टुंगिन्छ ।”

प्रतिक्रिया