सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ७ फुलबारी टोलका अमृत बहादुर कार्कीको पल्सर मोटरसाइकल हराएको पाँच महिना भयो । गत भदौँ ३० गते उहाँको आफ्नै घरबाट मोटरसाइकल हराएको थियो । कालो रगंको हुलास कम्पनीको सन २०२० मा बनेको प्रदेश नं. २–०२–प.६४४८ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल हराएको हो । घरमा पार्किङ गरेर राखेको मोटरसाइकल रातको समयमा हराएको प्रहरीले बताएको छ । उक्त मोटरसाइकलको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सुनिल चौरसियाले बताउनुभयो ।
केहि दिन अगाडि सुनकोशी गाउँपालिकाको रामटार बजारबाट एउटा मोटरसाइकल हराएको थियो । पार्किङ स्थलमा राखेको मोटसाइकल हराएको हो । मोटरसाइकल खोजि दिन प्रहरी चौकिमा निवेदन समेत दिएको सवारी धनीले बताए । प्रहरीले हराएको मोटरसाइकल खोजि रहेको जानकारी दिएको छ ।
सिन्धुलीमा दुई वर्षको अवधिमा १५ वटा मोटरसाइकल हराएको छ । ती मध्ये २ वटा मात्रै फेला परेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा ७ वटा मोटरसाइकल चोरी भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । सो मध्ये २ दुइ वटा फेला परेका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ मा ८ वटा मोटरसाइकल हराएका छन् । ती कुनै पनि फेला परेका छैनन् । हराएका मोटरसाइकलको खोजि कार्य भइरहेको प्रहरीले बताएको छ । अन्य जिल्लाबाट हराएका मोटरसाइकल सिन्धुलीमा दुई वटा वेवारिसे अवस्थामा फेला परेका छन् ।
किन भेटिदैनन् हराएका मोटरसाइकल ?
सिन्धुलीबाट हराएका अधिकांश मोटरसाइकल फेला परेका छैनन् । प्रहरी अनुसन्धानको स्रोत, प्रविधि र जनशक्तिको सीमितताका कारण हराएको मोटरसाइकल तुरुन्तै फेला पार्न नसकिएको स्थानियले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उरिक्षक अनिल कुमार खड्काका अनुसार चोरहरूले मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्न सक्छन् वा त्यसलाई टुक्रा–टुक्रा पारेर पाट्र्सको रूपमा बिक्री गर्न सक्छन्, जसले गर्दा पहिचान गर्न कठिन हुन्छ । चोरी भएका मोटरसाइकलहरू सीमावर्ती क्षेत्रहरूमा ओसारपसार गरिन सक्ने वा अवैध रूपमा बिक्री हुन सक्ने भएकाले खोजी गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । साथै उहाँले जीपीएस ट्र्याकिङ सिस्टम धेरै मोटरसाइकलमा जडान गरिएको हुँदैन, जसले गर्दा चोरी भएमा त्यसको लोकेशन ट्रेस गर्न मुस्किल हुने बताउनुभयो ।
कसरी हराउँछ मोटरसाइकल ?
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुनिल कुमार खड्काका अनुसार मोटरसाइकल हराउनुको मुख्य कारण कमजोर ‘ह्यान्डिल लक’ भएर हो । कतिपयले मोटरसाइकल पार्किङ गर्दा ह्यान्डिल लक गर्न भुल्दा पनि मोटरसाइकल चोरी हुने गरेका छन् । तर, अधिकांश मोटरसाइकल ह्यान्डिल लक बलियो नभएका कारण हराउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अधिकांश मोटरसाइकलको ह्यान्डिल लक निकै फितला र कमजोर हुन्छ । ह्यान्डिललाई जोडले बटार्दा पनि भाँचिन्छ । यसो हुनुको कारण ह्यान्डिल लक राम्रो नहुनु हो । सामान्य तरिकाले तोड्न सकिने भएकोले चोरी हुने क्रम बढेको हा े।
उहाँले भन्नुभयो, ‘मोटरसाइकल हराउनुमा ह्यान्डिल लककै समस्या हो, कम्पनीले ह्यान्डिल लक अलि बलियो राख्यो भने यो समस्या हल हुन सक्छ ।’
गाउँगाउँ पुर्याइन्छन् चोरीका मोटरसाइकल
बजार क्षेत्रमा मोटरसाइकल हराउने क्रम बढेपछि प्रहरीले सर्वत्र खोजी कार्य बढायो । खोज्दै जाँदा बजार क्षेत्रमा चोरी भएका मोटरसाइकल ग्रामीण क्षेत्रमा भेटिए । अधिकांश मोटरसाइकल तराईका जिल्लाहरूमा पु¥याइएको भेटिएको छ । सहरबाट मोटरसाइकल चोरेर गाउँमा लैजाने क्रम बढेपछि प्रहरीले ग्रामीण सडकहरूमा पनि चेकजाँच बढाएको प्रनाउ खड्काले बताउनुभयो । उहाँका हराएका मोटरसाइकल गाउँगाउँमा पुगेर खोज्दा फेला परेका छन । ती मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर चलाइन्छ । कतिपयले सहरबाट मोटरसाइकल चोरी गरेर गाउँमा लगेर सस्तोमा बेच्ने धन्दा समेत थालेको प्रहरीको बुझाइ छ । “ग्रामीण सडकमा ट्राफिक जाँच हुँदैन भनेर सहरका मोटरसाइकल त्यस्ता क्षेत्रमा पु¥याएको भेटियो, बजारमा मोटरसाइकल हराउँदा गाउँ पुगेर खोज्नुपर्ने अवस्था छ ,” प्रनाउ खड्काले भन्नुभयो