सिन्धुली– सिन्धुलीमा सिचाईका टुक्रे योजनाको कारण कार्यान्वय गर्न समस्या हुने गरेको छ । खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय अन्र्तगतको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सिन्धुलीले योजना कार्यान्वय गर्न कठिनाई हुने गरेको बताएको हो ।
टुक्रे योजना साथै कर्मचारी अभावको कारण योजना प्रभावकारी ढंगबाट योजना कार्यान्वयनमा समस्या भएको डिभिजन प्रमुख कृष्ण बहादुर पाण्डेले बताउनुभयो । उहाँका अनुसार योजना अनुसारको बजेट नहुनु साथै टुक्रे योजना बढी भएको कारणले योजना कार्यान्वयमा समस्या हुने गरेको छ । “धेरै जसो १० देखि १५ लाखको योजना छन् । टुक्रे योजनाले गर्दा समस्या भएको छ । लिफ्टबाट पानी ल्याउने र सिचाई गर्ने लक्ष्य सहितको १० लाखको योजना थियो । सो योजना अनुसार निर्माण कार्य भएपनि भावी दिनमा लिफ्ट संचालन गर्नका लागि विद्युत आपुर्ती खर्च लगाएतको जिम्मा कस्ले लिने भन्ने कुरामा छलफल भयो । त्यसपछि सो स्थानका स्थानीयले योजना सम्झौता नगर्ने निर्णय गरे, अर्को ठाउँमा उक्त योजना निर्माण गर्ने र योजना निर्माण पछि लाग्ने सम्पूर्ण खर्च स्थानियले व्यहोर्ने छलफल भइरहेको छ । एउटा योजना सम्झौताका लागि झण्डै पाँच देखि छ महिना लाग्छ ,” उहाँले भन्नुभयो ।
योजना निर्माणका उपभोक्ता समिति मार्फत हुने गर्दछ । उपभोक्ता समिति गठन गर्दा विवाद हुने गरेको उहाँले बताउनुभयो । “विवादको कारण समिति गठन गर्न नै ढिला हुने गरेको बताउनुभयो । समिति मार्फत काम गर्नु पर्ने भएकाले समिति गठन गनैँ समस्या हुन्छ । सबै जना समितिमा बस्नु पर्ने भन्दै विवाद हुने गर्दछ । सम्बन्धीत वडाध्यक्ष समेत सहयोग नगरेको कारण बढी विवाद हुने गर्दछ ,” उहाँले भन्नुभयो । यस्तै दरबन्दी अनुसारको कर्मचारी नहुदा पनि योजना कार्यन्वयमा समस्या हुने गरेको छ । आयोजना कार्यान्वयनको क्रममा व्यक्ति तथा संस्थाका अनावश्यक दवाब आउने गरेको उहाँले बताउनुभयो । ठेक्का लगाएर काम गर्ने र ठेक्क नलाउने विषयमा दबाव आउने गरेको छ । कार्यालयलाई काम गर्नका लागि ५५ दिन समय अपुग भएको समेत उहाँले बताउनुभयो ।
कार्यालयमा आर्थिक वर्ष २०८१/८२ मा सिचाईका १९५ वटा योजना रहेको छ । पुष महिना सम्म कार्यालयले कुल बजेटको ४१.५१ प्रतिशत भौतिक प्रगति रहेको जानकारी गराएको छ । सो मध्ये नदि नियन्त्रण तर्फ २५.६२ र सिंचाइ प्रणालीको निर्माण तर्फ १७.९ प्रतिशत प्रगति रहेको छ । उहाँका अनुसार कार्यालयमा अधिकाशं सानो बजेटको आयोजना छन् ।