सिन्धुली – सुनकोशी गाउँपालिका, सिन्धुलीमा विकास बजेटको दुरुपयोग, सार्वजनिक खरिद प्रक्रियामा अनियमितता, र प्रशासनिक पारदर्शिताको अभाव देखिएको भन्दै स्थानीयवासी तथा सरोकारवालाहरूले गम्भीर प्रश्न उठाएका छन् । पछिल्लो समय विकास योजनामा ढिलाइ, ठेक्का प्रक्रियामा असंगति, र आर्थिक अनियमितताका घटना बाहिर आउन थालेपछि गाउँपालिकाभित्र व्यापक असन्तोष देखिएको छ ।
गाउँपालिकाले हरेक वर्ष करोडौँ रुपैयाँका पूर्वाधार विकासका योजना अघि सार्दै आएको छ । तर, कतिपय आयोजनाहरू समयमा सम्पन्न नभएको, तोकिएको बजेटभन्दा बढी खर्च देखाइए पनि कार्यको गुणस्तर कमजोर रहेको गुनासो बढ्दै गएको छ ।
स्थानीय स्रोतका अनुसार, विगत दुई वर्षमा सडक निर्माण, विद्यालय भवन मर्मत, खानेपानी तथा सरसफाइ योजनाहरूमा लाखौं रुपैयाँ खर्च भएको देखिए पनि भौतिक प्रगति न्यून देखिएको छ । कतिपय योजनामा भने कार्य सम्पन्न देखाएर बजेट फर्जी रूपमा निकासा गरिएको आरोपसमेत स्थानीय जनप्रतिनिधिहरूमा लागेको छ ।
सुनकोशी गाउँपालिकामा विकास निर्माणका लागि बोलपत्र आह्वान गर्दा निश्चित व्यक्तिहरूलाई मात्र प्राथमिकता दिने, प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन नगर्ने, र स्थानीय व्यवसायीहरूलाई अवसरबाट वञ्चित गराउने प्रवृत्ति देखिएको स्थानीय सरोकारवालाहरू बताउँछन् । कतिपय अवस्थामा एकै व्यक्तिका विभिन्न कम्पनीहरूले बोलपत्र पेस गर्ने र सोही व्यक्तिलाई ठेक्का दिने जस्ता घटनाहरू सार्वजनिक भएका छन् ।
यसैबीच, गाउँपालिकाले निर्माण परियोजनाहरूको अनुगमन गर्नुपर्नेको भूमिका कमजोर देखिएको छ । सडक, सार्वजनिक भवन, तथा अन्य भौतिक पूर्वाधार निर्माण कार्यमा न्यून गुणस्तर कायम गरिएको र सम्झौताअनुसार निर्माण कार्य पूरा नगरे पनि जिम्मेवार निकायहरू मौन रहेको आरोप स्थानीयको छ ।
कर्मचारी भर्ना र सेवा सुविधामा अनियमितता
गाउँपालिकाले पछिल्लो वर्ष विभिन्न शाखाहरूमा कर्मचारी नियुक्ती गरेको थियो । तर, केही पदहरूमा प्रतिस्पर्धात्मक प्रक्रिया नै नअपनाई राजनीतिक आस्थाका आधारमा नियुक्ति गरिएको स्थानीयको दाबी छ । साथै, कतिपय अस्थायी कर्मचारीहरूलाई विना कुनै स्पष्ट प्रक्रिया स्थायी बनाइएको र नियमित प्रशासनिक कार्यहरूमा गैरजिम्मेवार व्यक्तिहरू संलग्न गराइएको आरोप छ ।
गाउँपालिकाका पदाधिकारीहरूका लागि विनियोजन गरिएका स्रोतसाधनको दुरुपयोग भएको देखिन्छ । सरकारी सवारी साधन, इन्धन खर्च, भ्रमण भत्ता, तथा विभिन्न सेवा सुविधामा अनावश्यक रूपमा खर्च गरिएको प्रमाणहरू बाहिर आएका छन् । कतिपय कर्मचारी तथा पदाधिकारीहरूले सरकारी गाडीलाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने, विदेश भ्रमणमा आवश्यकता भन्दा बढी खर्च गर्ने तथा अनावश्यक बैठक भत्ता लिने गरेको देखिन्छ ।
बालुवा, गिट्टी उत्खननमा अनियमितता
सुनकोशी गाउँपालिकाभित्र पर्ने सुनकोशी नदीबाट अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन भइरहेको स्थानीयको आरोप छ । यस उत्खनन कार्यलाई नियमन गर्नुपर्ने स्थानीय सरकारकै संरक्षणमा क्रसर उद्योगहरूले अनधिकृत रूपमा दोहन गरिरहेको भन्दै स्थानीय बासिन्दाहरू आक्रोशित भएका छन् ।
स्थानीय स्रोतका अनुसार, सुनकोशी नदी किनारमा रहेका केही ठूला व्यवसायीहरूले अनधिकृत रूपमा नदीजन्य सामग्री उत्खनन गरिरहेका छन् । यसले वातावरणीय सन्तुलनमा प्रतिकूल असर पार्नुका साथै गाउँपालिकालाई प्राप्त हुनुपर्ने राजस्वसमेत गुम्ने अवस्था सिर्जना गरेको छ । अवैध उत्खननले गर्दा नदीको बहाव परिवर्तन भई वरपरका बस्ती तथा खेतीयोग्य जमिनलाई समेत असर पुगेको छ ।
स्थानीयको माग : पारदर्शिता र सुशासनको प्रत्याभूति
स्थानीय बासिन्दा तथा नागरिक समाजका अगुवाहरूले गाउँपालिकामा भइरहेको अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरूले पारदर्शिता कायम गर्न, सार्वजनिक खरिद तथा ठेक्कापट्टा प्रक्रियामा प्रतिस्पर्धा सुनिश्चित गर्न, र सुशासन प्रवद्र्धन गर्न आवश्यक नीति तथा नियम कडाइका साथ लागू गर्नुपर्ने बताएका छन् ।
सिन्धुली जिल्लाका अन्य स्थानीय तहमा पनि यस्तै समस्या देखिएका कारण, प्रदेश तथा संघीय सरकारको ध्यान यतातिर जानुपर्ने आवश्यकता देखिएको छ । यदि समयमै आवश्यक सुधारका उपायहरू अवलम्बन गरिएन भने, भ्रष्टाचार र अनियमितताका कारण स्थानीय विकास अवरुद्ध हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
सुनकोशी गाउँपालिकामा देखिएको भ्रष्टाचार र अनियमितताले सुशासनको अभाव देखाएको छ । आर्थिक स्रोतसाधनको पारदर्शिता नहुँदा स्थानीयवासीको विकासप्रतिको विश्वास घट्दै गएको छ । सरोकारवालाहरूले सरकारलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन् ताकि विकासको नाममा भइरहेको अनियमितता रोकी वास्तविक प्रगति सम्भव होस् ।