काठमाडौँ,०८ फागुन – सरकारले विपद्बाट क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे आठ अर्ब बजेट दिने भएको छ । गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति बीपी राजमाग पुनर्निर्माणका लागि आवश्यक बजेटको स्रोत सहमति गरेको हो ।
आइतबार बिपी राजमार्ग पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । सोहीअनुसार मन्त्रालयले उक्त बजेटमा स्रोत सहमति गरेको हो । प्रारम्भिक अध्ययनअनुसार ९ अर्ब ६६ करोड लागत लाग्ने देखिएको थियो । तर, अहिले एक अर्ब बजेट घटेर स्रोत सुनिश्चितता भएको हो ।
कुल स्रोत सुनिश्चितता भएकामध्ये बीपी राजमार्ग भक्तपुर खण्डलाई सात अर्ब ५० करोड र खुर्कोट खण्डलाई एक अर्ब छ । यसमध्ये यी दुवै खण्ड निर्माणका लागि चालु वर्षमा एक अर्ब ७० करोड रुपैयाँ विनियोजन हुने भएको छ ।
यसैगरी अस्थायी सडक पुनर्निर्माणका लागि बीपीको दुवै खण्डमा २१ करोड २५ लाख विनियोजन हुने भएको छ ।
सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माका अनुसार बाढी पहिरोबाट क्षतिग्रस्त बिपी राजमार्ग बनाउन बजेटको स्रोत सहमति भएको बताउनुभयो । “हामीले माग गरेअनुसार बजेटको स्रोत प्राप्त भएको छ । अब छिट्टै यी आयोजनाहरू निर्माणका लागि प्रक्रिया अघि बढाउँछौँ ,” उहाँले भन्नुभयो ।