शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

खुर्कोटमा सवारी चालक अनुमतिपत्र परीक्षा पटक पटक स्थगित

बिहिवार , फाल्गुण ८, २०८१

सिन्धुली – यातायात कार्यालय खुर्कोटमा सवारी चालक अनुमतिपत्र परिक्षा पटकपटक स्थगित भएको भन्दै सेवाग्राहि आक्रोसित भएका छन् । कार्यालयले तोकेको समयमा परिक्षा संचालन गर्न नसकेको हो । कर्मचारी अभावको कारण कार्यालयले परिक्षा स्थगित भएको भन्दै सूचना प्रकाशन गरेको छ । कार्यालयले फागुन ८ गते सञ्चालन गर्ने भनिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षालाई कर्मचारी अभाव देखाउँदै स्थगित भएको हो ।

यसअघि प्राविधिक कारण भनेर परीक्षा स्थगित गर्ने गरिएको थियो । खुर्कोटमा दरबन्दी रहेका तथा त्यहीँबाट तलब–भत्ता बुझिरहेका मेकानिकल इञ्जिनियरलाई हप्ताको ३ दिन बनेपा र ३ दिन खुर्कोटमा कार्य गर्ने गरी कामकाज तोकिएको छ । तर, इञ्जिनियर हप्तामा एक दिन पनि खुर्कोट कार्यालयमा नआउँदा पटक–पटक लाइसेन्स परीक्षा रद्द गर्नुपर्ने अवस्था रहेको नाम उल्लेखगर्ने सर्तमा यातायात कार्यालय खुर्कोटका एक कर्मचारीले बताए । उनले भने, “यदि मेकानिकल इञ्जिनियर हप्तामा एक दिन मात्र उपस्थित भए पनि परीक्षा सञ्चालन गर्न सकिन्थ्यो ।” फागुन ८ गतेका लागि तय गरिएको लाइसेन्स परीक्षाका लागि करिब ५० जनाले फारम भरिसकेको कार्यालयका ति कर्मचारीले जानकारी दिए ।

तोेकेको समयमा परिक्षा संचालन हुन नसक्दा बैदेशिक रोजगारीमा जाने युवालाई असर परेको छ । एक युवकले भने, “एकपटक कुनै कार्यालयमा फारम भरेपछि अर्को ठाउँमा फारम भर्न नपाइने नियम छ । यसले गर्दा समस्या भएको छ । तोकिएकै समयमा परिक्षा हुन्छ भन्ने विश्वासले यस कार्यालयमै लाइसेन्सको लागि फारम भरियो, परिक्षा हुदैन सधै स्थगित भइरहन्छ ।” पटकपटक परिक्षा स्थगित भएको भन्दै उहाँले सम्बन्धी निकायले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कहिले सम्म कुरेर बस्ने हो ? परिक्षा नै संचालन गर्न सक्दैन्न भने किन परिक्षा फारम खुलाउनु ? धेरै पटक परिक्षा स्थगित भइसक्यो । यस विषयलाई सम्बन्धीत निकायले ध्यान पनि दिन आवश्यक छ । कहिले सम्म हामीले यसरी दुख पाइरहने हो ।”

लाइसेन्सका लागि फारम भरेका अन्य सेवाग्राहीहरू पनि अन्योलमा परेका छन् । कार्यालयमा इञ्जिनियर मात्र होइन, अन्य कर्मचारीहरू पनि नियमित रूपमा उपस्थित हुने गरेका छैनन् । स्थानीयहरूका अनुसार, खुर्कोट यातायात कार्यालयका कर्मचारीहरुले विदा लिने चलन छैन् । विदा नै नलिई कर्मचारी हप्तौं हराउने गर्छन् र पछि एकैपटक हाजिर गर्ने गरेको स्थानियको आरोप छ । यस विषयमा बुझ्न कार्यालयका निमित्त प्रमुख बुद्धि राम शर्मालाई सम्र्पक गर्दा उहाँले कल उठाउनुभएन् ।

प्रतिक्रिया