शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

नेपाली सेनाले सिन्धुलीमा सुरु गर्‍यो पदयात्रा

बिहिवार , फाल्गुण ८, २०८१

सिन्धुली – नेपाली सेनाले बुधवारदेखि सिन्धुलीको ऐतिहासिकस्थल हरिहरपुरगढी देखि सिन्धुलीगढीसम्मको पद यात्रा सुरु गरेको छ । नेपाल एकीकरणका क्रममा प्रयोग भएका ऐतिहासिक गढी, किल्ला तथा पदमार्गहरुको संरक्षण, पर्यटन प्रवद्र्धन, प्रचार–प्रचार र पुर्खाको सम्मान गर्ने उद्देश्यका साथ श्री भवानीबक्स गण र हरिहरपुरगढी गाउँपालिकाको समन्वय तथा सहकार्यमा पदयात्रा सुरु भएको हो ।

भवानीबक्स गणका सेनानी गणेश सागर हमालको नेतृत्वमा नेपाली सेनाको ब्याण्डबाजा, पञ्जेबाजा बजाउदै पदयात्रामा निस्किएका ४५ जनाको टोलीले हरिहरपुगढी गाउँपालिका–१ हरिहरपुरगढी किल्लादेखि कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीसम्म ७५ किलोमिटर दूरीको पदयात्रा आठ दिनमा सम्पन्न गर्ने जनाइएको छ ।

टोलीलाई हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवा, श्री नं. ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की, भवानीबक्स गणका गणपति प्रमुख सेनानी बद्री कुँवरले राष्ट्रिय झण्डा प्रदान गरेर विदाई गर्नुभएको थियो ।

पदयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिका प्रमुख बज्रध्वज वाईवाले ऐतिहासिकस्थलहरुको संरक्षण, पर्यटन प्रवद्र्धन तथा विकासका लागि यस्ता पदयात्राहरुले सहयोग पुग्ने बताउनुभयो । स्थानीय समुदाय र सरोकारवालाहरुको सहकार्यमा हरिहरपुरगढी किल्ला क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको उहाँले सुनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले इतिहास, धर्म, संस्कृति, परम्पराको संरक्षण नभए देश समृद्ध बन्न कठिन हुने धारणा राख्नुभयो । नयाँ निर्माण र पुरानाको संरक्षणले मात्रै देश समृद्ध बन्ने उहाँको भनाई थियो ।

सिन्धुलीका इतिहास जानकार सागरकुमार ढकालले नेपाली सेना र पालिकाको सहकार्यमा सुरु भएको पदयात्राले इतिहासलाई सम्मान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासलाई सम्मान गर्नु भनेको सबै भन्दा ठूलो विकास हो ।”

बुधवारदेखि सुरु गरिएको पदयात्राको समापन फागुन १४ गते महाशिवरात्रि तथा सेना दिवसको अवसरमा कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिकस्थल सिन्धुलीगढीमा विशेष कार्यक्रम आयोजना गरेर समापन गरिने भवानीबक्स गणले जनाएको छ ।

प्रतिक्रिया