शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बिपी राजमार्ग पुनर्निर्माणको ठेक्का बर्खाअघि नै लाग्छ ?

बुधवार , फाल्गुण ७, २०८१

सिन्धुली – अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ । गत असोज १० देखि १३ गते तथा यस वर्षको मनसुनबाट क्षतिग्रस्त बनेका राजमार्गहरू, पुललगायत संरचना पुनर्निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग २६ अर्ब रुपैयाँको स्रोत सुनिश्चिताको माग गरेको थियो ।

अर्थ मन्त्रालयले सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रूपैयाँको स्रोत सहमति प्रदान गरेको छ । स्रोत सहमति प्रदान गरिएकामा १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन्। सडकतर्फ बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति लोकपथसहित १३ वटा राजमार्ग रहेको भौतिक मन्त्रालयले बताएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले यस आर्थिक वर्षका लागि ६ अर्ब स्रोत सुनिश्चित भए पुनर्निर्माण प्रक्रिया सुरू गरिहाल्ने बताएको थियो । मन्त्रालयका सचिव केशवकुमार शर्माले बिपी राजमार्ग पुननिर्माणका लागि यस वर्ष अढाइ अर्ब रुपैयाँ भए पनि काम सुरू गर्न सकिने बताउनुभएको थियो ।

अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गर्नासाथ फागुन १५ भित्रै टेन्डर आह्वान गर्ने गरी काम थाल्ने भौतिकको तयारी रहेको शर्माको भनाइ छ । “यस वर्ष दुई–अढाई अर्ब रूपैयाँको स्रोत सुनिश्चित हुँदा फागुन १५ भित्रै ठेक्का प्रक्रियामा हामी अघि बढिहाल्छौं,” उहाँले भन्नुभयो ।

गत असोजको बाढीले बिपी राजमार्गको काभ्रेपलाञ्चोकको भकुन्डेबेसीदेखि नेपालथोकसम्म २८ किलोमिटर सडकमा क्षति पु¥याएको थियो। ८.७ किलोमिटर सडक त कटान नै गरेको थियो । सडक विभागले बाढी–पहिराले क्षति पु¥याएको बिपी राजमार्गको उक्त खण्ड अध्ययन गरी पुननिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । जसअनुसार पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका अनुसार अब बन्ने २८ किलोमिटर सडक डबल लेनको हुनेछ । नालासहित १० मिटर चौडा हुनेछ । सात मिटर चौडाइ कालोपत्र गरिने कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिनुभयो ।

“यो सडक जियोमेटिक स्ट्यान्डर्डको हुनेछ । यो भनेको क्लास–टु स्ट्यान्डर्ड पनि हो । अहिले भइरहेको भन्दा फराकिलो र व्यवस्थित सडक बनाउने योजना छ,” न्यौपानेले भन्नुभयो, “पहिलो चरणमा बन्द सडक ट्र्याक खोलेर रेस्पोन्स ग¥यौं । दोस्रो चरण रिकभरी अन्तर्गत प¥यो । त्यसमा हामीले ट्र्याकलाई स्तरोन्नति गर्दै पहिले जति सवारी गुड्थे, त्यति नै चल्ने बाटोमा रूपान्तरण ग¥यौं । अब हामी पुनर्निर्माणको चरणमा प्रवेश गरेका छौं । यस चरणमा हामीले पहिलेभन्दा व्यवस्थित, जोखिमरहित सडक निर्माण गर्नेछौं ।”

डिपिआर अनुसार उक्त सडकमा तीन सय एमएम (१ लाख ५ हजार ५०८.८८ घनमिटर) को सब–बेस, २५० एमएम (६५ हजार ३७२.६४ घनमिटर) को बेस, ७५ एमएमको वाटर बाउन्ड म्याडम र ४० एमएमको आसफाल्ट कालोपत्र गरिनेछ ।

तीन लाख ९६ हजार ३०२.८३ घनमिटर माटो कटिङ गर्नुपर्ने र ७ लाख ६४ हजार १७५.८८ घनमिटर पुर्नुपर्ने पनि विस्तृत परियोजना प्रतिवेदनले बताएको छ ।

पुनर्निर्माणका लागि फागुन महिनाभित्रैमा ठेक्का आह्वान गरे पनि प्रक्रियामा हिसाबले ठेकेदार नियुक्त गर्न जेठ पर्खनुपर्छ। बर्खाको मुखमा पुनर्निर्माण सुरू गर्दा सवारी आवागमन झनै चुनौतीपूर्ण हुनेछ । त्यसैले अहिले सडक डिभिजन भक्तपुरले बिपी राजमार्गको भत्किएको खण्ड मर्मत गरिएको छ ।

साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार राजमार्गको बोक्सीकुना र चिउरी बाँसझ्याङ खण्डमा डाइभर्सनको काम भइरहेको छ ।

“अहिले हामी अस्थायी डाइभर्सन गरिएको भाग नदी सतहबाट उचाल्ने र त्यसलाई व्यवस्थित गर्ने काम गरिरहेका छौं,” उहाँले भन्नुभयो, “भेलबाढीका कारण नदीको सतह बढेको छ । त्यसलाई गहि¥याउने र नदीको बहाव परिवर्तनको काम पनि सँगसँगै गरिरहेका छौं,’ साइट इन्जिनियर दुर्गाले भन्नुभयो ।

उहाँकाअनुसार राजमार्ग मर्मतका लागि अहिले ८ वटा उपकरण प्रयोग भइरहेका छन् । जसमा एउटा डोजर र ७ वटा स्काभेटर प्रयोग भइरहेका छन् । “यी सबै उपकरण विभागकै हुन् । मर्मतको काम पनि विभागले नै गरिरहेको छ । यसका लागि भइपरी आउने शीर्षक अन्तर्गतबाट स्रोतको व्यवस्थापन गरेका छौं,” उहाँले भन्नुभयो ।

बिपी राजमार्ग भएर अहिले दैनिक तीन हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । सुख्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) गाडी चलाउन रोक लगाएको छ ।

प्रतिक्रिया