सिन्धुली – नेपाल शिक्षक महासंघ कमलामाई नगर समितिले मंगलवार कमलामाई नगरपालिकालाई खबरदारी तथा ध्यानाकर्षण पत्र बुझाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सुशील बर्मालाई नेपाल शिक्षक संघ कमलामाई नगर कार्य समितिका अध्यक्ष रामेश्वर दाहालले ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउनु भएको हो ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित आन्दोलन २०८१ अन्तर्गत नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति कमलामाई नगरपालिकाले कमलामाई नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाइएको नगर अध्यक्ष रामेश्वर दाहालले जानकारीदिनुभयो ।
विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामा रहेकै बेला ऐनले सम्बोधन गर्नुपर्ने विषयमा आम शिक्षकको भावना विपरीत निवृत्तिभरण सम्बन्धी अध्यादेश जारी हुनुले राज्य अझै अनेक बहाना गरी भाग्ने प्रयत्नमा लागेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
देशमा गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध र शिक्षक कर्मचारीका पेसागत माग मुद्दा सम्बोधन गराउन नेपाल शिक्षक महासंघ निरन्तर क्रियाशील छ । यस क्रममा २०७५, २०७८ र २०८० सालमा सञ्चालित आन्दोलनको बलमा नेपाल सरकारसँग महत्त्वपूर्ण सहमतिहरू भएको र अब स्थायी, राहत, साबिक उमावि, शिक्षण सिकाइ अनुदान, अस्थायी ÷ करार, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका सबै मागहरू सम्बोधन हुने विद्यालय, विद्यार्थी, शिक्षक–कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनु आवश्यक रहेको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
सरकारकै निर्णयबाट हुनसक्ने बाल कक्षा शिक्षक, विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकको लागि उचित तलबमान, शिक्षकको ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधिको खोरेजी, मासिक तलब भुक्तानी जस्ता सामान्य काम समेत नगरिनुबाट सरकारको शिक्षा, शिक्षक–कर्मचारी विरोधी सोच प्रस्ट हुन्छ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
आन्दोलन अघि बढ्दै जाँदा आगामी चरणमा अवरोधात्मक, अवज्ञा (बहिष्कार) र काठमाडौँ केन्द्रित सडक आन्दोलनका कार्यक्रमहरू लिएर हामी अघि बढ्नेछौ, महासंघले गर्ने आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म नरोकिने ध्यानाकर्षण पत्रमा भनिएको छ ।
न्यायिक मागहरू सम्बोधन हुने गरी शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ अघि बढेको यो आन्दोलनलाई सहयोग र समर्थन गर्न सरोकार पक्षमा शिक्षक महासंघले अपिल गरेको छ ।
