सिन्धुली – सिन्धुलीको त्र्यम्वकेश्वर ज्योतिर्लिङ मन्दिरमा महायज्ञको तयारी पुरा भएको छ । मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी भएको कमलामाई नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले नगरपालिकाले अपनत्व लिएपछि त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग मन्दिर परिसरमा धार्मिक महायज्ञ सुरु हुन लागेको बताउनुभयो । हिन्दु धर्मालम्बीहरुको धार्मिक आस्थाको शक्तिपिठ ज्योतिर्लिङ्ग मध्येको एक ज्योतिर्लिङ्ग मानिने कमलामाई नगरपालिका २ मा रहेको त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग मन्दिरको प्रचार प्रसार र धार्मिक पर्यटन प्रवद्र्धनका लागि महायज्ञ सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
कमलामाई नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय सिन्धुली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, उद्योग वाणिज्य संघ लगायतको सहयोगमा धार्मिक अनुष्ठानको तयारी पुरा भएको जानकारी दिनुभयो । उक्त धार्मिक ज्ञान महायज्ञमा नेपालका प्रथम जगत् गुरु श्री बाल सन्त महाराजले कथा वाचन गर्नु हुने उहाँले जानकारी दिनुभयो ।
मेयर पोखरेलले नगरपालिका भित्र रहेका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरूको पहिचान गर्दै खोज, अनुसन्धान गर्दै पर्यटकहरूको लागि कमलामाई नगरपालिकालाई गन्तव्यको रूपमा विकास गर्ने गरी नगरपालिका लागेको स्मरण गराउँदै मैले गरे भनेर व्यक्तिगत रूपमा प्रचारबाजी नगर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो “यस नगरपालिका भित्रको धार्मिक स्थललाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने, नगर क्षेत्रको विकासका कार्यहरूको जिम्मा स्थानीय तहको हुने भएकाले यसमा कुनै व्यक्तिले मैले गरे भनेर हिँड्न नहुने, व्यक्तिले गर्न नसक्ने र विकास, संरक्षण, संवद्र्धनमा स्थानीय सरकारको दायित्व हुने र कमलामाई नगरपालिकाले अगुवाइ गरेको स्मरण गराउन चाहन्छु ।”
हिन्दुहरूको आस्थाको शक्तिपिठ त्र्यमबकेश्वर ज्योतिर्लिङ्ग मन्दिर र मन्दिर भन्दा ५०० मिटर माथि भेटिएको गौतमी ऋषि गुफाको प्रचार गर्न पत्रकारहरूलाई उहाँले आग्रह गर्नुभयो । आज बिहान ७ बजे हुने कलश यात्रामा र १५ गते सम्म हुने महायज्ञमा सहभागी हुन आग्रह गर्नुभयो ।
त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग मन्दिर संरक्षण समितिका अध्यक्ष रामबहादुर जर्गा मगरले फागुन ७ गते देखी १५ गते सम्म हुने महायज्ञमा सहभागी भई दिनु हुन सवैमा अनुरोध गर्नुभयो । संरक्षणको पर्खाइमा रहेको मन्दिरको संरक्षणमा कमलामाई नगरपालिकाले अगुवाइ गरेपछि अहिले मन्दिरको व्यवस्थापनमा धेरै कार्यहरू भएको उहाँले बताउनुभयो । जसका कारणले अहिले महायज्ञ सञ्चालनका लागि आवश्यक सबै तयारीहरू पुरा भएको उहाँको भनाई रहेको छ ।
चियावारिबाट दुई किलोमिटर माथि रहेको त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग मन्दिरमा जान चाहने असहाय, वृद्धहरूका लागि अटोको व्यवस्था गरिएको, मन्दिरमा आउने भक्तजनहरूको लागि खान र बस्नको लागि व्यवस्था मिलाइएको उहाँको भनाई रहेको छ । यस कार्यमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिँदै उहाँले मन्दिर परिसरमा अवलोकन गरिदिन आग्रह गर्नुभयो ।