सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारी नजिकै गौतमी गंगाको तटमा त्रयम्बकेश्वर ज्योतिर्लिंग उत्पत्तिस्थलमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी फागुन ७ गते बुधबारबाट १५ गते बिहीबारसम्म हुँने महायज्ञको तयारी तीव्र पारिएको छ ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराज श्रीगुरुले कथावाचन गर्ने मन्दिर व्यवस्थापन समिति तथा श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक दानबहादुर जर्गामगरले बताउनुभयो । सप्ताहमा साथसाथै त्रयम्बकेश्वर ज्योतिर्लिंग उत्पत्तिको कथा, गौतम ऋषि र गौतम ऋषि पत्नी अहिल्या गौतमी गंगाको महŒव र महिमाका बारेमा सुन्न सकिनेछ ।
शिवपुराण, स्कन्दपुराण, वृहत् विष्णुपुराण र वाल्मीकि रामायण आदि धर्मग्रन्थहरूमा वर्णन गरिएको १२ ज्योतिर्लिंग मध्य प्रसिद्ध आठौं त्रयम्बकेश्वर जोतिर्लिंग पवित्र गौमती तटमा विराजमान रहेको धार्मिक विश्वास छ ।
पृथ्वीका दुहादश ज्योतिर्लिंगहरूमध्ये आठौं ज्यातिर्लिंग त्रयम्बकेश्वर ज्योतिर्लिंग शास्त्रीय आधारका साथ उत्पत्ति भएका थिए भन्ने विश्वासका साथ नेपालका प्रथम जगत्गुरु बालशन्त मोहनशरण देवाचार्य महाराज श्रीगुरुले २०७६ साल मंसिर २४ गते उक्त स्थानमा त्रयम्बकेश्वर ज्योतिर्लिंगको प्राणप्रतिष्ठा गर्नुभएको थियो । सोही मन्दिरलाई पुनर्निर्माण, त्रयम्बकेश्वर ज्योतिर्लिंग उत्पत्तिको कथा, गौतम ऋषि र गौतम ऋषिपत्नी अहिल्या गौतमी गंगाको महत्व र महिमाका बारेमा प्रचारप्रसार गर्न उक्त पवित्रस्थालमा श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको व्यवस्थापन समितिका अध्यक्षजर्घामगरले बताउनुभयो ।
कमलामाई नगरपालिका २ चियाबारीबाट करिब दुई किलोमिटर उत्तरपट्टि रहेको ब्रह्मगिरी पर्वतको फेदमा महर्षि गौतम र माता अहिल्याको पौराणिक तपस्थली धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार पवित्र तथा शास्त्रीय रूपमा चर्चित त्रयम्बकेश्वर ज्योतिर्लिंग उत्पत्तिस्थल भएको विश्वास छ ।
स्थानीय तथा महायज्ञ प्रचारप्रसार समितिका टलक थापा ‘थकित’का अनुसार त्यस ठाउँमा ऋषि गौतमकै तपोबलबाट प्रकट भएकी पवित्र देव नदी गौमती नदीको उद्गम स्थल छ । त्यसै गौमती नदीको उद्गमस्थलमा विराजमान पौराणिक एवं ऐतिहासिक गौतम तीर्थ विराजमान रहेको बताइन्छ ।
“शिवपुराण, स्कन्दपुराण, बृहत् विष्णुपुराण र वाल्मीकि रामायण आदि धर्मग्रन्थहरूमा वर्णन गरिएको १२ ज्योतिर्लिंगमध्ये प्रसिद्ध आठौं त्रयम्बकेश्वर जोतिर्लिंग पवित्र गौमती तटमा विराजमान पवित्र धार्मिकस्थलको विकास र उन्नयनका लागि महायज्ञको आयोजना गरिएको हो,” थापालेले भन्नुभयो ।