सिन्धुली – निर्माणधीन भवनको एउटा कोठाको एक छेउमा कक्षा ४ मा गणित विषयको पढाई भइरहेको छ । त्यसैको अघिल्लो छेउमा कक्षा ३ मा सामाजिक विषयको पढाई भइरहेको छ । एउटा कक्षामा पढाएको अर्को कक्षामा प्रस्टै सुनिन्छ । निर्माणाधिन भवनमा उक्त कोठाको छेउछाउमा कुनै घेराबार छैन । दुर्घटनाको जोखिम पनि उत्तिकै छ । गत असोजको दोस्रो सातामा आएको सुनकोशी नदिको बाढीले सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुल्कोटको श्री पशुपति आधारभूत विद्यालय पूर्ण रुपमा क्षेती भएपछि विद्यालयले खुल्ला कक्षा मै पढाई संचालन गरिरहेको छ ।
बाढीले विद्यालयका कक्षा कोठामा क्षति पुर्याएपछि विद्यालयले खुल्ला कक्षा सञ्चालन गर्न बाध्य भएको विद्यालयको प्रधानाध्यापक निर्मला कुमारी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले पूर्णरुपमा क्षेती गरेको विद्यालयमा पुन: कक्षा संचालन गरिसकेका छौँ । पुननिर्माण गर्न केहि समय लाग्ने भएपछि हामीले यसरी खुल्ला कक्षामै विद्यार्थी पढाउन बाध्य छौँ । स्थानीय अभिभावक, जनप्रतिनिधि लगाएत स्थानिय बुद्धिजिविको सहयोगमा बाढीले विद्यालयमा ल्याएको माटो सफा गरि कक्षा संचालन गरेका हौँ ।”
जनश्रमदान, विद्यालय परिवार, स्थानीय जनप्रतिनिधिको सहयोगमा विद्यालय सर–सफाई गरेर कात्तिकको अन्तिम साताबाट कक्षा सञ्चालन गरिएको प्रअ श्रेष्ठले बताउनुभयो । उहाँका अनुुसार विपदले पुर्याएको क्षतिका कारण खुुल्ला कक्षा सञ्चालन गर्न बाध्य भएका छन् । यसले पठनपाठनमा असहज भएको छ । सुनकोशी नदीबाट आएको बाढीले विद्यालयको १२ वटा कोठा, डेक्स, बेन्च, शैक्षिक सामाग्री, कागजपत्रहरु बगाएको थियो । अस्थायीरुपमा विद्यालयले कक्षा संचालन गरेपनि विद्यार्थीलाई अध्ययनको लागि समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।
बाढीले विद्यालय ध्वस्त बनाएको सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष सुरथ बस्यलले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर ५ का दुई वटा विद्यालय विपदले क्षेती गरेको थियो । दुइ वटा विद्यालयको झण्डै ५ सय विद्यार्थी प्रभावित भएको उहाँले बताउनुभयो । असोज दोस्रो साता आएको बाढी पहिरोले दुइ वटा विद्यालय पूर्ण रुपमा क्षती गरेको थियो । हाम्रो वडाको थापाथुम्का मावि विद्यालय र पशुपति आधारभूत विद्यालयमा क्षेती पुगेको हो ।
विद्यालयलाई पुनसंचालनमा ल्याउनका लागि स्थानीय तहले सहयोग गरिरहेको उहाँले बताउनुभयो । हाल धुलोको कारण विद्यार्थीलाई असर गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष बस्यलले विद्यालयमा विद्यार्थीलाई सहजरुपले अध्ययन गर्ने व्यवस्था मिलाउन स्थानिय तहले योजना बनाएर अगाडि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विद्यार्थीलाई सहजरुपमा अध्ययन गर्नका लागि विद्यालय पुर्न निर्माण तथा सर सफाई गरिरहेका छौँ । स्थानियको सहयोगमा स्काभेटर प्रयोग गरेर विद्यालयको भवनमा भरिको माटो निकालि कक्षा संचालन गर्न मिल्ने बनाएका छौँ । छिटै नै क्षतीग्रस्त विद्यालय भवनको पुर्न निर्माण हुने ।”