शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सब डिभिजन वन कार्यालय रानीवासको  भवन उदघाटन

बिहिवार , फाल्गुण १, २०८१

सिन्धुली, – डिभिजन वन कार्यालय सिन्धुली अन्तरगतको रानीवास सब डिभिजन वन कार्यालय, तल्लो रानीवासको नवनिर्मित कार्यालय भवनको उदघाटन गरिएको छ । भवनको वागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले बुधवार उदघाटन गर्नुभएको हो ।

उदघाटन कार्यक्रमा मन्त्री सिलवालले प्रदेश र संघको वन ऐन बाझिएकाले संशोधन गरिने बताउनुभएको छ । उहाँले वनको संरक्षण गरी त्यसको उपयोग गर्न प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले सिन्धुली डिभिजनको समग्र वन ब्यवस्थापन माथि आफ्नो भनाई राख्दै समग्र वन क्षेत्रलाई समृद्धि सँग जोड्दै लैजान दिगो वन ब्यवस्थापन मार्फत वनको ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य मात्रिकाप्रसाद भट्टराईले कुनै पनि ऐन, कानुन बनेर मात्रै नहुने धारणा राख्नुभयो । त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उहाँको जोड थियो । हरियो वन नेपालको धन भएकाले यसको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने अर्का प्रदेशसभा सदस्य सुष्पा भुजेलले बताउनुभयो ।

कार्यक्रमका डिभिजनल वन अधिकृत राम कुमार भण्डारीले डिभिजन वन कार्यालय सिन्धुली अन्तर्गत रहेको वनक्षेत्र लाई डढेलो बाट जोगाउन समहु र डिभिजन वन कार्यालयले सहकार्य गरि कार्य सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामा, उपप्रमूख शान्ता कार्की, कमलामाई नगर उपप्रमूख मञ्जु देवकोटा, दुधौली नगर उपप्रमूख चन्द्र किशोर थारु, शहरी तथा भवन निर्माण कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरे, कमलामाई न पा १४ का वडा अध्यक्ष राजन न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघ वागमती प्रदेशका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

जिल्लाका स्थानीय तहका प्रमुहखहरुले स्थानीय वन ऐन निर्माण हुन नसक्दा स्थानीय सरकारलाई काम गर्न समस्या भएको बताउनुभएको थियो । उक्त सब डिभिजनको भवन रु एक करोड ७९ लाख ६९ हजार आठ सय ७४ मा सम्पन्न भएको हो ।

प्रतिक्रिया