सिन्धुली, – गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेश संसदबाट चाडै पास हुने बताउनुभएको भएको छ । मंगलवार सिन्धुली उद्योग बाणिज्य संघको ३४ औ साधारण सभा उदघाटन कार्यक्रममा बोल्दै गृह मन्त्री लेखकले सरकारले ल्याएका अध्यादेश संसद बाट पाश गरे सँगै ६० दिन भित्र प्रतिस्थापन बिधेयक पनि पास गरेर कार्यन्वयनमा ल्याउने बताउनुभयो ।
मन्त्री लेखकले काँग्रेस एमाले समिकरणको सरकार दिगो शान्ती, शुसाशन र भ्रष्टचार नियन्त्रणका लागि बनेका पनि दाबी गर्नुभयो । सरकारले देश र जनातका पक्षमा अग्रसर भएर काम गरिरहेको बताउदै मन्त्री लेखकले निजी क्षेत्रका लागि अनुकुल बातावरण बनाउन र खस्कदो अर्थतन्त्रलाई मजबुद बनाउन पनि सरकार लागि परेको बताउनुभयो ।
नेपालमा आइटीको संभावना बढेकाले नेपाली युवाले स्वदेशमा मात्र नभएर विदेशमा बसेर पनि काम गर्ने बातावण सरकारले बनाएको उहाँले बताउनुभयो । उहाँले सरकार ढल्ने हल्ला पनि चलेकाले कसैले पनि सरकार ढल्ने कुरामा समय र परिश्रम खेर नफाली रचनात्मक काम गर्न आग्रह गर्नुभयो । उहाँले गत असोजमा गएको बाढीले क्षती भएको विपी राजमार्गमा वर्षातको समयमा पनि सवारी यथावत रुपमै सञ्चालन गर्ने गरी सरकारले तयारीका काम गरीरहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले कुनै पनि उद्योगी, व्यवसायीले डर, त्रास र असुरक्षाको अनुभूति गर्नु नपर्ने बताउनुभयो । उहाँले सरकारले उद्यमी, व्यवसायीको सुरक्षाको नीति लिएकोले निर्वाध रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । “व्यवसायीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्छ । तपाईंहरूमाथि कुनै पनि अवाञ्छित दबाब सिर्जना भएमा स्थानीय प्रशासन, गृह मन्त्रालयलाई जानकारी गराउनुस्, हामी निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्ने अवस्थाका लागि प्रतिबद्ध छौं”, गृहमन्त्री लेखकले भन्नुभयो ।
नेपालको वर्तमान आयात, निर्यात संरचनालाई हेर्दा उच्च व्यापार घाटामा रहेको देखिएकाले स्वदेशी उत्पादन प्रवद्र्धन गर्दै आयात प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
“देशभित्र स्थापित उद्योगलाई महत्व दिँदै निर्यात गरेर व्यापार घाटा घटाउनु आजको आवश्यकता हो, यसका लागि उद्योगी, व्यवसायीको भूमिका महत्त्वपूर्ण छ”, लेखकले भन्नुभयो, “व्यापार, वाणिज्य, उद्योग, व्यवसायको कुरा निजी क्षेत्रले सञ्चालन गर्छ, सरकारले त्यसमा सहजीकरण र सहयोगको भूमिका मात्रै निर्वाह गर्छ । त्यसमा हामी सधैँ गम्भीर छौं ।”
उत्पादन तथा बजार प्रवद्र्धनका लागि स्थानीय उत्पादनको उचित मूल्य, प्रशोधन उद्योग स्थापना तथा आधुनिक प्रविधिको विकास, जुनारजस्ता कृषिजन्य उत्पादनको दीर्घकालीन भण्डारण तथा निर्यात बढाउने, कोल्डस्टोर स्थापना गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सरकारको सधैँ सहयोग रहने पनि उहाँले बताउनुभयो ।
कार्यक्रमको अवसरमा नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य श्याम कुमार घिमिरेले देशमा उद्योग तथा कलकारखानाको विकास नेपाली काँग्रेसको नेतृत्वमानै सुरुवात भएको बताउनुभएको छ । देशमा भएको बिभिन्न राजनैतिक अस्थीरताका कारण काँग्रेसको नेतृत्वले सुरु गरेको आर्थिक गतिसिलतालाई अगाडी बढाउन नसकिएको उहाँको भनाई छ । देशमा राजनैतिक स्थिरता कायम गर्न र देशको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाली काँग्रेस र नेकपा एमाले जस्ता बलिया शक्ति एक भएर सरकारको निर्माण भएको उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सिन्धुली क्षेन नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले देशमा उत्पादन कम र वितरण धेरै भएको र उत्पादनमा जोड दिन नसकिएको बताउनुभएको छ । देशमा पर्याप्त आधारहरु हुदाँहुदै पनि उद्योग धन्दाहरु खोल्न नसकिएको उहाँको भनाई छ ।
उहाँले सिन्धुली जिल्लामा सडक संरचना, पुलहरु निर्माणको लागि ठेक्का प्रक्रिया हालसम्म पनि सुरु हुन नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्न समेत गर्नुभएको छ । सुनकोशी मरिण डाइभर्सनको हेडवक्स निर्माणको काम हाल सम्म ४७ प्रतिशत हुनुपर्नेमा अहिले ७ प्रतिशत मात्रै भएकाले ठेक्का प्रक्रिया तोड्नुपर्ने, टनेल ब्रेक थ्रु गरेको यतिका समय बित्दा पनि निर्माणको काम अलपत्र परेकोमा सरकारको ध्यान जान नसकेको भन्दै उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।
गएको असोजमा आएको बाढीका कारण भएको क्षतीमा संघिय सरकारले पुननिर्माणमा अहिले सम्म कुनै लगानी नगरेको उहाँको भनाई छ । नेपाल सरकारले विपि राजमार्ग तुरुन्त पुननिर्माण नगरे बर्खाको समयमा सडक पूर्ण रुपमा बन्द हुने बताउदै अस्थायी पुननिर्माणको लागि भएपनि सरकारले निर्माण थाल्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा बागमति प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रि शुकुमाया तामाङले उद्योग संघ सम्बन्धित बिभिन्न बिधाहरु पर्ने भएकाले ब्यवसायलाई ब्यवस्थित बनाउन, संस्थागत विकासका गर्न र बिभिन्न समस्या परेका समयमा सहजिकरण गर्नको लागि बागमति प्रदेशले योजना बद्ध ढंगले अगाडी बढेको उहाँको भनाई छ ।