शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा शिक्षक पाउनै सकस, नवौँ पटक विज्ञापन

आइतवार , माघ २७, २०८१

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकाले शिक्षक आवश्यकताको लागि आठौँ पटक विज्ञापनमा आवेदन नआएपछि पुनः नवौँ पटक विज्ञापन खुलाएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा रिक्त रहेको गणित विषयको शिक्षकको लागि आठौँ पटक विज्ञापन खुलाउदा समेत आवेदन नआएपछि पुनः नवौँ पटक विज्ञापन खुलाएको हो ।

आठौँ पटक विज्ञापन गर्दा सम्म योग्यता पुगेका व्यक्तिको आवेदन नआएपछि नवौँ पटक विज्ञापन खुलाएको गाउँपालिकाले जानकारी दिएको छ । यहि माघ २० गते गाउँपालिकाले शिक्षक आश्यकता सम्बन्धी नवौँ पटक सुचना निकालेको हो । “फिक्कल गाउँपालिकाको सामुदायिक विद्यालय रित्त रहेको गणित विषयको शिक्षक यस गाउँपालिकाको शिक्षा ऐन, २०७४ संशोधन सहित को दफा २४ बमोजिम खुल्ला प्रतिस्पर्धाबाट सेवा करार पदपूर्ति गर्नु पर्ने हुदाँ योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सुचना प्रकाशित भएको सात दिन भित्र रितपूर्वक दरखास्त दिन आहन गरिन्छ, ” सूचनामा भनिएको छ । आवेदन दिन शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिइ कम्तीमा द्धितीय श्रेणीमा स्नातकोत्तर उतीर्ण गरि माध्यमिक तहको स्थायी अनुमती पत्र प्राप्त गरेको हुनु पर्ने सुचनामा उल्लेख गरिएको छ ।

सुनकोशी गाउँपालिकाले पनि शिक्षक आवश्यकता सम्बन्धी पहिलो पटक खुलाएको विज्ञापनमा आवदेन नआएपछि दोस्रो पटक विज्ञापन आवेदन खुलाएको छ । गाउँपालिकाले पालिका अन्तर्गतका दुइ वटा विद्यालयमा रिक्त रहेको शिक्षक पदमा करारमा नियुक्तिका लागि विज्ञापन निकालेको हो । गाउँपालिका अन्तर्गतको शिद्ध माध्यमिक विद्यालय कोटगाउँमा रिक्त रहेको गणित विषयको शिक्षकको लागि विज्ञापन खुलाएको थियो । साथै ग्रामकाली माध्यमिक विद्यालय अमारेमा रिक्त रहेको अंग्रेजी विषयको शिक्षकको लागि आवदेन खुलाएको हो । आवेदनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धीत विषयमा स्नातक वा सोसरह उतीर्ण गरेको हुनुपर्ने जानकारी गराइएको छ ।

संघीय अनुदानबाट प्राप्त शिक्षक कोटाका लागि बिएस्सी तह उत्तीर्ण गरेको व्यक्ति हुनु पर्छ । साथै शिक्षण लाइसेन्स भएको हुनु पर्छ । शिक्षण लाइसेन्स नभएका व्यक्ति भने प्रशस्तै भेटिएपनि योग्यता पुगेका व्यक्तिको आवेदन नआएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले दोस्रो पटक माघ ४ गते शिक्षक आवश्यकता सम्बन्धी सूचना सार्वजनिक गरेको थियो । “सुनकोशी गाउँपालिकाको शिक्षा सम्बन्धी कार्यविधि २०७५ को पहिलो संशोधन २०८० अनुसार गाउँपालिका अन्तर्गत विभिन्न विद्यालयमा रित्त, रहेका शिक्षक पदमा करारमा नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नागरिकले सात दिन भित्र रितपूर्वकको दरखास्त आव्हान गरिएको छ ।” सुचनामा भनिएको छ ।

पटक पटक विज्ञापन गरेर छनोट गरिएका शिक्षक पनि बिचैमा छाडेर जाने गरेको र अर्को शिक्षक छनोट गर्न समय लागेका कारण स्कुलको पठनपाठन नै डामाडोल भएको विद्यालयहरूको गुनासो छ । यी केही उदाहरण मात्रै हुन् । पटक पटक सार्वजनिक आवेदन अह्वान गर्दा पनि पछिल्लो समय सामुदायिक विद्यालयहरूले शिक्षक पाउनै छाडेका छन् । विशेष गरी माध्यमिक तहका विज्ञान, गणित, अंग्रेजीलगायतका विषयमा यस्तो समस्या धेरै देखिएको छ ।

माध्यामिक शिक्षा परीक्षा (एसइई) मा पनि यिनै विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन् । सरकारले पर्याप्त शिक्षक दरबन्दी दिन नसकेपछि अनुदान तथा राहत कोटामा शिक्षक भर्ती गर्न थालिएको थियो । यी कोटामा रोजगारीको सुनिश्चितता नभएपछि शिक्षकहरू सधैँ त्यसभन्दा राम्रो रोजगारीको पर्खाइमा रहने गरेका छन् । जसको प्रभाव विद्यालयको पठनपाठनमा परेको छ । जिल्लाका एक शिक्षकले भने, “पहिलो कुरा मनग्य पैसा दिन नसकिएका कारण शिक्षक पाउन सकिएको छैन । अर्को कुरा सरकारको शिक्षक लाइसेन्स नभएकालाई पढाउन नदिने नीतिले पनि हामीलाई अप्ठ्यारो पारेको छ ।” गणित, विज्ञान, अंग्रेजीलगायतका विषयमा लाइसेन्स नभए पनि शैक्षिक योग्यता पुगेका जोकोहीलाई पनि पढाउन दिने सरकारी नीति हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया