सिन्धुली,२५ माघ – झापाबाट काठमाडौं जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ मा दुर्घटनामा परेको ईभी गाडीमा सवार घाइतेमध्ये एक जनालाई थप उपचारको लागी काठमाडौं गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेका अनुसार घाइते भएका ५ जनामध्ये एक जनालाई काठमाडौं र अर्को एक जनालाई धरान लगिएको छ ।
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ का सञ्जय रोक्कालाई थप उपचारका लागि काठमाडौं लगिएकोे उपरीक्ष काफ्लेले बताउनुभयो ।
त्यस्तै, इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङलाई थप उपचारको लागी धरान लगिएको छ । अन्य तीन जना घाइतेको सिन्धुली अस्पतालमै उपचार भइरहेको छ ।
मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बू, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी र झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डलको सिन्धुली अस्पतालमा उपचार भइरहेको उपरीक्षक काफ्लेले बताउनुभयो ।
“अरु तीन जनाकै उपचार जारी छ । चिकित्सकहरूले अहिले उहाँहरूको यहीँ उपचार हुन्छ भन्नुभएको छ,” उपरीक्षक काफ्लेले भन्नुभयो ।
विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रवार बिहान भएको दुर्घटनामा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको छ ।