सिन्धुली – ‘बिहेबारी, बिस वर्ष पारि’ भन्ने नारा र ऐन, कानुन भए पनि सिन्धुलीमा २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दो छ । जिल्लामा मात्र वार्षिक एक हजार किशोरीले २० वर्ष नपुगी सन्तान जन्माएर आमा बनेका छन् । बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले काम गरेको दाबी गरे पनि सिन्धुलीमा बालविवाह रोकिएको छैन ।
जिल्लामा पाँच वर्षमा २६ हजार ८ सय ४८ जना महिला गर्भवती हुँदा ४ हजार ९ सय ५ जना किशोरी २० वर्ष कम उमेरका रहेका थिए । जसमध्ये आव २०७६/०७७ देखि आव २०८०/०८१ सम्म क्रमशः ६ हजार १७ जना, ५ हजार ६ सय ७० जना, ५ हजार ६ सय ३६ जना, ५ हजार ८६ जना र ४ हजार ४ सय ३९ जना गरी कुल २६ हजार ८ सय ४८ जना महिला गर्भवती भएका थिए । जसमध्ये आव २०७६/०७७ देखि आव २०८०/०८१ सम्म क्रमशः १ हजार ३ सय ४ जना, १ हजार १ सय ६३, ९ सय ३२ जना, ८ सय ६३ जना र ६ सय ४३ जना गरी कुल ४ हजार ९ सय ५ जना २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती भएका थिए । सिन्धुलीमा आव ०७९/०८० मा १ जना गरी कुल ६१ जना विभिन्न जिल्लाका २० वर्ष कम उमेरका गर्भवती किशोरीको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा वढी (२० वर्षभन्दा कम उमेर) का किशोरी गर्भवती हुने जिल्लामा सिन्धुली चौथो स्थानमा रहेको छ । जिल्लामा कम उमेरमा आमा बन्नेको संख्या भयावह देखिएपनि प्रहरीमा बालविवाहको उजुरी भने खासै देखिन्न । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष ०७७/०७८ मा सिन्धुलीमा २ वटा बालविवाहका उजुरी परेको थियो । यस्तै, आव ०७८/०७९ मा एउटा उजुरी परेको थियो । आव ०७९/०८० मा सिन्धुलीमा एउटा र आव ०८१/०८२ को पुुससम्म सिन्धुलीमा दुई वटा मात्र उजुरी परेको प्रहरीले जानकारी दिएको छ ।
बालविवाहले बढ्यो सम्बन्ध विच्छेद
सिन्धुलीको कमलामाई नगरपालिका ४ का सन्तोषले पनि दुइ महिना अगाडि मात्रै श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नुभयो । १६ वर्षको उमेरमा प्रेम विवाह गर्नुभएको सन्तोषले पाँच वर्ष पछि सम्बन्ध विच्छेद गर्नुभएको बताउनुभयो । “सानै उमेरमा प्रेम विवाह गरेको हुँ । श्रीमती अरुसँग लागेको थाहा पाएपछि मैले सम्बन्ध विच्छेद गरेको हो ।” उहाँले भन्नुभयो ।
कम उमेरमा विवाह गर्ने अधिकाशंले सम्बन्ध विच्छेद गर्ने गरेका छन् । अहिले अदालतमा सम्बन्ध विच्छेदका मुद्धा बढेको छ । जम्मा मुद्धाको झण्डै आधि सम्बन्ध विच्छेदको मात्रै रहेको अदालतको तथ्याङ्कले देखाएको छ । अदालतमा चालु आर्थिक वर्षको हाल सम्म जम्मा ३५० वटा मुद्धा छन् ती मध्ये १ सय २७ वटा सम्बन्ध विच्छेदको रहेको छ ।