शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीका युवाहरु बिच दैनिक हुन्छ ग्याङ्ग फाइट

बुधवार , माघ २३, २०८१

सिन्धुली – गत आइतबार प्रहरीले दुई युवालाई नियन्त्रणमा लियो । गौमति माध्यामिक विद्यालयमा झगडा गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । विद्यालयमा सामान्य विषयलाई लिएर दुई युवकको समुहबिच झगडा भएको थियो । प्रहरीले जानकारी पाउने वित्तिकै तत्काल झगडामा सामेल भएका युवालाई नियन्त्रणमा लिएको हो । कुटपिट गर्ने युवा र कुटाई खाने दुई युवक प्रहरीको नियन्त्रणमा थिए । “केहि युवा भने भागे, झगडा गरी कुटपिट गर्ने युवालाई नियन्त्रणमा लिएका हौँ ,” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले भन्नुभयो, “सामान्य विषयलाई लिएर झगडा गरेका रहेछन् । सामान्य झगडा भएकाले नियन्त्रणमा लिएका युवालाई अभिभावको जिम्मा लगाई पठाउने छौँ ।” केहि दिन अगाडि कमलामाई नगरपालिकाको कार्यालय अगाडि एक हुल युवकको समुले एक युवकलाई कुटपिट गरे । तत्काल घटना स्थलमा प्रहरी पुगि कुटपिट गर्ने युवालाई नियन्त्रणमा लियो ।

जिल्लामा पछिल्लो समय दैनिक झैझगडा हुने गरेको स्थानीयले बताएका छन् । विषेश गरि बजार क्षेत्रमा बढी झगडा हुने गर्दछ । कमलामाई नगरपालिका ६ रातामाटाका अनिल कुमार श्रेष्ठले बजारमा साना उमेरका केटाहरु दैनिक एकआफ्समा झगडा गरिरहेको बताउनुभयो । उहाँका अनुसार सामान्य विवादमा आफ्नै साथीसाथी पनि झगडा हुने गर्दछ । झगडामा १६ देखि २० वर्ष उमेरका युवक बढी देखिने गरेको उहाँले बताउनुभयो । “झगडामा सामेल हुने स्कुल पढ्ने केटाहरु बढी छन् । केटीको विवाद साथै मुख छोडेको भन्दै कुटाकुट नै हुन्छ । बजारमा दैनिक झगडा भइरहन्छ । कोहि रक्सी खाएर पनि झगडा गर्ने गरेका हुन्छन् । प्रहरीले नियन्त्रणमा लिएपनि तत्काल छोड्ने भएकाले उनीहरुमा डर पनि नभएको देखिन्छ ” उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल चौरसियाका अनुसार झगडा तथा कुटपिट गर्ने युवकलाई तत्काल नियन्त्रणमा लिने गरेको बताउनुभयो । उहाँका अनुसार सामान्य विवाद भएकाले नियन्त्रणमा लिएका युवकलाई अभिभावको जिम्मा लगाएर पठाउने गरिएको छ । झगडामा बढी १६ देखि २० वर्षको युवा सामेल भएको उहाँले बताउनुभयो । साथीको लौलौँमा लगेर साथै मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने गरेको उहाँले बताउनुभयो ।

प्रहरी उपरिक्षक काफ्लेका अनुसार जिल्लाका विभिन्न विद्यालयमा खेलकुदका गतिविधि साथै मेलापर्व जाताको सिजन भएको कारण युवाहरु एकै ठाउँमा जम्मा हुने र झगडा गर्ने देखिएको छ । झैझगडा हुन नदिन प्रहरीले गस्ति बढाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया