शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ साउन ३१ गते बिहीबारको राशिफल र मौसम

बिहिवार , श्रावण ३१, २०८१

बि.सं.२०८१ साउन ३१ गते बिहीबार ई.सं.२०२४ अगस्त १५ नेपाल सम्बत ११४४ गुंलाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल दशमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वैधृति योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३४ बजे, सूर्यास्त साँझ ०६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :– तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। विवादास्पद जिम्मेवारी आइलाग्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। बलजफ्ती प्रयास गर्दा काम बिग्रन सक्छ। बुद्धिविवेकले काम लिने प्रयास गर्नुहाेला, फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– भौतिक साधन जुट्नाले नयाँ काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान लिन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। बिस्तारै काम बन्नेछ। अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :– सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। परिस्थितिवश कुनै काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। व्यापारमा राम्रो फाइदा हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :– अरूकाे करकापमा काम गर्नुपर्ने अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :–  प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउनेछ, कर्तव्यपरायण रहनुहोला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसोː देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज रातीː देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया