सिन्धुली– आफ्नै बुवाको हत्या गरेको अभियोगमा सिन्धुलीबाट एकजना पक्राउ परेका छन् । ५८ वर्षीय लाल बहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले २१ वर्षिया युवालाई पक्राउ गरेको हो ।
जिल्लाको हरिहरपुरगढी गाउँपालिका–७ पन्थचौरी लामपातका अमृत घिमिरे विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अमृतले आफ्नै बुबालाई सुतेको अवस्थामा बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले बताउनुभयो । छोराले बन्चरो प्रहार गरेपछि विकको घटनास्थलमै मृत्यु भएको थियो । यसबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वर र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले अमृतलाई बन्चरोसहित पक्राउ गरेको हो । शवलाई पोष्टमार्टमकालागि सिन्धुली अस्पताल पठाइएको छ भने यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको एसपी काफ्लेले बताउनुभयो ।