शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ साउन २० गते आइतबारको राशिफल र मौसम

आइतवार , श्रावण २०, २०८१

बि.सं.२०८१ साउन २० गते आइतबार ई.सं.२०२४ अगस्त ०४ नेपाल सम्बत ११४४ दिल्लागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण औंसी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सिद्धि योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०५: २८ बजे, सूर्यास्त साँझ ०६; ५० बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०८ बजेर ४९ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्नो काम रोकेर अरूका लागि बुद्धि खर्चनुपर्नेछ। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :– पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– अवसर प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा पछिका लागि जग बसाउने समय छ। शुभचिन्तकहरूले हौसला जगाउनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। छोटो समयमा पनि प्रतिफल पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनुपर्ला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आफ्नो क्षेत्रमा समेत कमजोर साबित भइनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :– सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :– छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। फजुल खर्च भने बढ्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। र, अध्ययनमा पनि बाधा पुग्न सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशभर केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशभर केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 

प्रतिक्रिया