बि.सं.२०८१ साउन ११ गते शुक्रबार ई.सं.२०२४ जुलाई २६ नेपाल सम्बत ११४४ दिल्लागा षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण पञ्चमी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, सुकर्मा योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५: २३ बजे, सूर्यास्त साँझ ०६: ५६ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ०५ मिनेट देखि ०८ बजेर ४७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : – परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– तारिफयाेग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ नदिन सक्छन्। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। धैर्य एवं लगनशीलताले मात्र न्यून प्रतिफल हातपार्न सफल भइनेछ। काम थाल्नुअघि याेजना सार्वजनिक नगर्नुहाेला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ। धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर समेत दिलाउनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्
यस्तो छ आजको मौसम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बागमती, गण्डकी, लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।