शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ साउन ०२ गते बुधबार को राशिफल र मौसम

बुधवार , श्रावण २, २०८१

बि.सं.२०८१ साउन ०२ गते बुधबार ई.सं.२०२४ जुलाई १७ नेपाल सम्बत ११४४ दिल्लाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल एकादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शुभ योग,वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५: १९ बजे, सूर्यास्त साँझ ०७: ०० बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १९ मिनेट देखि ०७ बजेर ०१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज हरिशयनी एकादशी व्रत रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : – व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– साथीभाइसँग रमाइलाे भेट हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिनेछ। नयाँ कामकाे याेजना बन्न सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। दिन रमाइलो रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला। कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। व्यवसायमा साेचेकाे फाइदा नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। सानातिना काममै अल्झनुपर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति आउन सक्छ। मिहिनेत गर्दा नियमित काम भने सम्पादन हुनेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्न सक्छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। अवसर पाइनेछ तर अद्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि धन प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि मनग्य फाइदा उठाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ने हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भैरहेको छ।

आज दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

।कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक - दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया